उपविजेता हुँदै सुपर एटमा पुग्ने एक मात्र एसोसिएट राष्ट्र अमेरिका 

खेलकुद अन्तर्राष्ट्रिय

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एटमा पुग्ने आठै टोलीको छिनोफानो भइसकेको छ । नवौँ संस्करणमा सहआयोजक अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर एटमा पुग्ने एक मात्र एसोसिएट राष्ट्र बनेको छ । 

चालू विश्वकपमा एसोसिएट राष्ट्र नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स युगान्डा, पपुवा न्युगिनी र नामिबिया पहिलो चरणबाटै बाहिरिएका छन् । अमेरिका, युगान्डा र क्यानडा विश्वकपका डेब्यु राष्ट्र हुन् । 

नामिबिया, क्यानडा, नेदरल्यान्ड्स र युगान्डाले एक जित निकाल्न सफल भए । ओमान, पपुवा न्युगिनी र नेपाल प्रतियोगितामा जितविहीन भएका छन् । समूह चरणमा चारै खेल गुमाउनेमा पपुवा न्युगिनी र ओमान मात्र रहे । दश वर्षपछि दोस्रोपटक विश्वकपमा सहभागी नेपालले समूह ‘डी’मा एक अंक बटुलेको थियो । श्रीलंकासँग वर्षाका कारण खेल रद्द भएपछि नेपालले अंक हात पारेको थियो । 

एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै सुपर एटमा स्थान बनाएको अमेरिकाले सनसनी रूपमा पूर्वविजेता पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । अमेरिकाले क्यानडालाई ७ विकेटले निराश बनाएको थियो । आयरल्यान्डसँगको खेलमा अमेरिकाले एक अंक बाँडेको थियो । 

पूर्वविजेता समूह चरणमै सीमित
विश्वकपमा अप्रत्याशित नतिजा आउँदा पूर्वविजेताहरू समूह चरणबाटै बाहिरिएका छन् । उपाधि दाबेदार मानेको पाकिस्तान समूह ‘ए’मा दुई जित निकाल्यो । चार अंक जोडेको पाकिस्तान सुपर एटमा पुग्न सकेन । अमेरिका र भारतसँग लगातार खेलमा पराजित हुँदा पाकिस्तान बाहिरिने प्रमुख कारण बन्यो । यसै समूहमा अर्को टेस्ट राष्ट्र आयरल्यान्डले चार खेलमा एक अंक मात्र जोड्यो । समूह ‘सी’मा न्युजिल्यान्ड तेस्रो स्थानमा रह्यो । अफगानिस्तानसँगको खेलमा ८४ रनले पराजित हुँदा न्युजिल्यान्डको सुपर एटको यात्रा समाप्त भएको थियो । न्युजिल्यान्ड दुई खेलअगाडि नै सुपर एटको दौडबाट बाहिरिएको थियो । 

पूर्वविजेता श्रीलंकाले दोस्रो चरणमा स्थान पक्का गर्न सकेन । श्रीलंका समूह ‘डी’मा दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ८३ रनले हराएको श्रीलंका समूह चरणबाट बाहिरियो । 

टेस्ट राष्ट्रकै दबदबा
सुपर एटमा पुगेका आठमध्ये सात राष्ट्र टेस्ट राष्ट्रहरू नै छन् । समूह ‘ए’बाट भारत विजेता रह्यो । समूह ‘बी’ साबिक विजेता इंग्ल्यान्डले अन्तिम खेलमा स्थान बनाएको थियो । अस्ट्रेलियाले स्कटल्यान्डमाथि जित निकाल्दा इंग्ल्यान्डको सुपर एटको बाटो खुलेको हो । स्कटल्यान्डसँग पहिलो खेलमै एक अंक बाँडिँदा इंग्ल्यान्ड एक समय सुपर एटमै नपुग्ने अवस्थामा पुगेको थियो । ओमानमाथि तीन ओभरमै जित निकाली इंग्ल्यान्डले रनरेटमा सुुधार गरी स्कटल्यान्डलाई स्तब्ध पारेको थियो । 

इंग्ल्यान्ड र स्कटल्यान्डले समान पाँच अंक जोडेका थिए । रनरेटमा स्कटल्यान्ड बाहिरियो । समूह ‘सी’बाट वेस्ट इन्डिजले चारै खेलमा जित निकाल्यो । दुईपटकको विजेता वेस्ट इन्डिजले मंगलबार समूह चरणकै अन्तिम खेलमा अफगानिस्तानलाई एक सय चार रनको फराकिलो अन्तरले पाखा लगायो । अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनु नै सुपर एटको स्थान बनाउने प्रमुख जितका रूपमा रह्यो । समूह ‘डी’बाट बंगलादेश र दक्षिण अफ्रिकाले नेपाललाई हराउन धेरै मिहिनेत गरेका थिए । दक्षिण अफ्रिकाले नेपालमाथि एक रनको झिनो जित निकालेको थियो । बंगलादेशले विश्वकपकै कम योगफल रक्षा गर्दा नेपाललाई २१ रनले पाखा लगाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *