एआईले तयार पारेका फोटो फेसबुकमा भाइरल, के तपाईँ पनि बनाउन चाहनुहुन्छ ?

नेपाल

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको फोटो निकै रुचाइएका छन् । नेपालको ग्रामीण भेगतिर मानिसहरू बसेर चिया पिइहेको वा चिया कपमा राख्न लागेको फोटोहरू प्रायः प्रयोगकर्ताको रोजाइमा परेका छन् ।

सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणी हेर्ने हो भने केही प्रयोगकर्ताले ती फोटो वास्तविक हुन् भन्ने सोचिरहेका छन् । वास्तवमा फेसबुकका विभिन्न मिम पेजमा देखिएका ती तस्वीर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुलको सहायताले तयार पारिएको हो

आज हामी एआई टुलको प्रयोग गरेर कसरी त्यस्ता तस्वीर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 

बिङ एआई

सामाजिक सञ्जालमा देखिएका जस्ता तस्वीर बनाउन सबैभन्दा उपयुक्त टुल हो, बिङ एआई । यो टुल माइक्रोसफ्टले ओपनएआईको ड्यालईलाई इन्ट्रिगेट गरेर तयार पारेको हो ।

तपाईं विन्डोज प्रयोगकर्ता हुनुहुन्छ भने एज ब्राउजरबाट सोझै यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य ब्राउजर, एन्ड्रोइड तथा आईओएसबाट पनि यो टुल प्रयोग गर्न सकिन्छ ।

अन्य ब्राउजरमा प्रयोग गर्न यहाँ क्लिक गरी माइक्रोसफ्ट अकाउन्टमार्फत साइनअप गर्नुपर्ने हुन्छ । त्यस्तै एन्ड्रोइडमा यो एप प्रयोग गर्न यहाँ र आईओएसमा प्रयोग गर्नका लागियहाँ क्लिक गरेर इन्स्टल गर्नुहोस् ।

ब्राउजरमा यो लिङ्क सर्च गर्नुहोस् । त्यसपछि च्याटबक्स खुल्छ । सो च्याटबक्समा आफूले चाहेको तस्वीरलाई शब्दका रूपमा लेख्नुहोस् । त्यस शब्दलाई नै प्रम्प्ट भनिन्छ । तपाईंले जस्तो निर्देशन दिनुभयो बिङ एआईले त्यस्तै किसिमको तस्वीर तयार पारिदिन्छ ।

उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea.) यस्तो प्रम्प्ट दिनुभयो भने एआईले अहिले सामाजिक सञ्जालमा बढी देखिएको जस्तै तस्वीर बनाइदिन्छ । उक्त तस्वीरलाई बिना कुनै वाटरमार्क हाई क्वालिटीमा डाउनलोड गर्न सकिन्छ । यो टुलको सहायताले आफूले चाहे जतिका तस्वीर तयार पार्न सकिन्छ ।

एडोबी फायरफ्लाई  

एडोबी फायरफ्लाई यस्तो टुल हो, जसले टेक्स्टको भरमा फोटो बनाउने मात्र नभइ कुनै पनि फोटोलाई एडिट गर्न सक्छ ।

एडोबी फायरफ्लाई के हो, कसरी काम गर्छ भन्ने विषयमा हामीले यसअघि लेखिसकेका छौं । यहाँ क्लिक गरेर उक्त टुलबारे थाहा पाउन सक्नुहुन्छ ।

लिओनार्दो एआई

अन्य एआई टुल जस्तै लिओनार्दो एआईमा पनि शब्दकै भरमा फोटो बनाउन सक्छ । सटीक फोटोहरू तयार पार्न सक्ने यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, सीमित क्रेडिट मात्र दिइएको हुन्छ ।

तस्वीर बनाउँदा उक्त क्रेडिट सङ्ख्या घट्छ । तपाईंले सामान्यतः १० भन्दा बढी तस्वीर निःशुल्क बनाउन सक्नुहुन्छ ।  लिओनार्दो एआई प्रयोग गर्न तलकाे प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । 
  • क्रियट एन अकाउन्ट लेखिएको बक्समा क्लिक गर्नुहोस् ।  
  • त्यसपछि गुगल, माइक्रोसफ्ट वा एप्पल अकाउन्ट प्रयोग गरेर सोझै साइनअप गर्न वा ईमेल मार्फत पासवर्ड राखेर अकाउन्ट बनाउन सक्नुहुन्छ । सजिलोको लागि गुगलको अप्सन छानेर आफूले चाहेको गुगल अकाउन्ट प्रयोग गर्नुहोस् । 
  • अनि आफ्नो युजरनेम राख्नुहोस् । र, आफूले सो टुल किन प्रयोग गर्न चाहेको भन्ने अप्सन छान्नुहोस् । 
  • यति गरिसकेपछि अन्तिममा रहेको ‘स्टार्ट युजिङ लिओनार्दो’ को बटनमा ट्याप गर्नुहोस् । 
  • यति भएपछि तपाईंको लिओनार्दो अकाउन्ट तयार हुन्छ । तपाईंले सबैभन्दा पहिले १५० ओटा क्रेडिट निःशुल्क पाउनुहुन्छ । एक पटक प्रम्प्ट दिंदा २० क्रेडिट खर्च हुन्छ । 
  • यति भएपछि सबैभन्दा माथि ‘टाइप अ प्रम्प्ट’ को बक्समा प्रम्प्ट राख्नुहोस् । उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea) टाइप गरेर सर्च गर्नुहोस् । (आफूलाई जस्तो तस्वीर बनाउने इच्छा छ त्यस्तै प्रम्प्ट राख्न सक्नुहुन्छ ।)
  • यति भएपछि तपाईंले भनेको जस्तै तस्वीर देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *