के भयेर मेयर बालेन शाहले गरे नगर सभा बैठक स्थगित?

नेपाल घटना

काठमाडौं महानगरको १५ औं नगर सभा अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ। 

आइतबार बिहान राष्ट्रिय सभा गृहमा महानगरको नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न बैठक राखिएको थियो।

बैठक सुरू हुनेबित्तिकै मेयर बालेन शाहले नगर सभा सदस्यहरूलाई बोल्न पाँच मिनेटभित्र नाम टिपाउन भनेका थिए।

केहीबेरमा नगर सभा सदस्यहरू बसेको ठाउँबाट उठेर हलबाहिर जान थाले। मेयर शाह अलमलमा परे। उपमेयर सुनिता डंगोललगायत सँग कुराकानी गरे।

केहीबेरमा मेयर शाहले असार १० गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए। लगत्तै मेयर शाहले पार्टीको धङधङी बोकेर नआउन नेपाली कांग्रेस, नेकपा (एमाले) बाट निर्वाचित सदस्यहरूलाई आग्रह गर्दै फेसबुकमा स्टाटस पोस्ट गरे। 

‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला। तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो,’ मेयर शाहले भनेका थिए। उनले तीन नेता भनेर वडाध्यक्षहरू ईश्वरमान डंगोल, नवराज पराजुली र नवीन मानन्धरलाई लक्षित गरेका हुन्।

नगर सभा बैठक सुरू हुनुअघि वडा नम्बर १५ का अध्यक्ष डंगोल, ३२ का अध्यक्ष पराजुली र १७ का अध्यक्ष मानन्धर बेग्लै छलफलमा जुटेका थिए। डंगोल एकीकृत समाजवादी, पराजुली एमाले र मानन्धर कांग्रेसबाट निर्वाचित भएका हुन्। 

उनीहरूले नीति तथा कार्यक्रममा संशोधन हाल्न छलफल गरेका थिए।

वडाध्यक्षहरू बेग्लै छलफलमा जुटेको थाहा पाएका मेयर शाहले महानगरको कुनै पनि नीति तथा योजनामाथि बन्द कोठामा छलफल नहुने भएकोले बैठक प्रत्यक्ष प्रशारण गर्ने गरिएको प्रतिक्रियासमेत दिएका थिए। 

‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौ‌ंले गर्दैन,’ उनले भने। 

आइतबार नगर सभा बैठकमा के भएको थियो भनेर केही वडाध्यक्षहरूसँग हामीले कुराकानी गरेका छौं। 

शुक्रबारको नगर सभामा मेयर बालेनले नीति तथा कार्यक्रम पेस गरेका थिए। नीति तथा कार्यक्रम सबै सदस्यहरूलाई बाँडियो। त्यसपछि कांग्रेस, एमाले र एकीकृत समाजवादीका नगर सभा सदस्यहरूले सामूहिक छलफल गरेका थिए।

‘१६२ सदस्य भएको नगर सभामा फरक-फरक विचार आएर समय खेर नजाओस् भनेर पार्टीगत रूपमा नीति तथा कार्यक्रममा छलफल गरिएको थियो,’ वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले भने, ‘संशोधन हालिने कुरा बारम्बार नदोहोरियोस् भनेर एमाले, कांग्रेस र समाजवादीका सदस्यहरू सबैले के कुरामा संशोधन हाल्ने बुँदाहरू टुंग्याउनु भएको थियो।’

संशोधन गर्ने बुँदा टुंग्याउन तीन वटै दलका सदस्यहरूबीच शनिबार र आइतबार राष्ट्रिय सभा गृहमै छलफल भएको थियो।

आइतबार नगर सभा बैठकअघि सबै दलबाट आएका संशोधनहरूबारे कांग्रेस, एमाले र एकीकृत समाजवादीका एक-एक जना वडाध्यक्ष छलफलमा जुटेका थिए। त्यसैले केही ढिला हुने जानकारी वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई जानकारी दिइएको थियो।

वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले संशोधनका बुँदा टुंगो लगाउन समय लाग्ने देखिएकोले केही ढिला हुन्छ भनेर प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइएको बताए।

‘संशोधन हाल्ने बुँदा टुंग्याउन समय लाग्ने भएर बिहान ११ बजेसम्मको समय दिनु भनेका थियौं। आजै संशोधन हालेर पारित गरौंला भनिएको थियो। तर मेयरले बैठक नै स्थगित गरिदिनुभयो,’ उनले भने।

मानन्धरका अनुसार पहिले नगर सभामै संशोधन हाल्ने गरिएको थियो। त्यसपछि मेयर बालेनले संशोधनसहित पास गर्ने भनेपछि पास हुने गर्थ्यो। तर अन्तिममा बिनासंशोधित आएपछि यस पटक नयाँ तरिका अपनाइएको थियो।

वडा नम्बर २२ का वडाध्यक्ष महर्जनका अनुसार वडाध्यक्षकै भूमिकामा नीति तथा कार्यक्रमबाट एकमुष्ट संशोधन हाल्न खोजिएको बताए।

‘दलीय छलफल गरेर पछि सबैको तर्फबाट एकैपटक संशोधन हाल्दा मेयरलाई के को आपत्ति? उहाँ स्वतन्त्र छ भन्दैमा हामी कुनै पार्टीसँग आबद्ध हुनै हुँदैन भन्ने हो? संविधानले नै दिएको अधिकार उहाँले गर्न पाइँदैन भनेर हुन्छ?,’ उनले भने।

यसो त व्यक्तिगत स्वार्थ नबोकी काम गर्दा मेयर बालेनले पार्टीको झोले भनेर होच्याउन नहुने उनको बुझाइ छ। त्यसैगरी कसरी राजनीति गर्नुपर्छ भनेर मेयर बालेनले सिकाउनु पर्ने स्थिति नरहेको उनी बताउँछन्।

‘गीत गाएर नाचेर आएको मान्छेले ठूलो कुरा गर्न पाइन्न,’ उनले भने, ‘हामीले राजतन्त्र फालेरै राजनीतिमा लागेका हौं, गीत गाएर नाचेर आएको होइन।’  

वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी मेयर बालेन वैदेशिक भ्रमणमा जान हतार भएपछि नगर सभा स्थगित गरेको आरोप लगाउँछन्। ‘उहाँको आज ब्राजिल भ्रमण छ, त्यही भएर हतार हुन्छ भनेर नगर सभा स्थगित गरिएको हो,’ उनले दाबी गरे।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले भने वडाध्यक्षहरूलाई नीति तथा कार्यक्रम लेखपढ गर्न समय चाहिएपछि समय दिइएको बताए। 

मेयर बालेन ब्राजिल जान हतार भएकोले नगर सभा स्थगित गरेको हो भन्ने प्रश्नमा उनले त्यसो नभएको बताए।

‘नीति तथा कार्यक्रम पढ्न वडाध्यक्षहरूलाई समय दिएको हो,’ उनले भने। 

मेयरका स्वकीव सचिव शाहका अनुसार सोमबार बिहान साढे २ बजे मेयर शाह बाज्रिलतर्फ प्रस्थान गर्ने छन्। मेयर शाह मेट्रोपोलिसको पहिलो बोर्ड बैठकमा सहभागी हुने उनले बताए।

गत वर्ष मेयर शाह महानगर विश्व संघ (वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस) को सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका थिए।

संघका महासचिव जोडी वाकरले मेयर बालेनलाई पत्र पठाउँदै सन् २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *