को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

घटना

काठमाडौं । यहाँ दुई चार करोड भ्रष्टाचार गर्नु अनौठो हुन छाडेको छ । हुँदा हुँदा अब त करोडौं भ्रष्टाचारका अभियोग सार्वजनिक हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले राज्यको रकम बदनियतपूर्ण तरिकाले कमिसनमा प्रयोग गरेको भन्दै मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्रले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फिउल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएको आरोप लगाएको छ । आयोगले नौ जनामाथि भ्रष्टाचार गरेको औंल्याएको छ ।
खरीद प्रक्रियामा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरीद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्फर स्वीकार गरिएको छ। सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरिएको छ । कामै नगरी संरचना संचालनवापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिइएको अख्तियारको दाबी छ। आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फिउल ट्यांक सिस्टम खरिद गरिएको औंल्याइएको छ । पौडेलमाथि ६९ करोडको भ्रष्टाचारको आरोप लागेको छ । यस्तै तत्कालिन शिक्षा मन्त्रालयमा कार्यरत मेकानिकल इन्जिनियर नविनकुमार पोखरेलले ४९ करोड ४६ लाख, सुरक्षण मुद्रण केन्द्रको सहायक निर्देशक रमेशप्रसाद पोखरेलले २० करोड ३८ लाख हिनामिना गरेको आरोप छ।

यस्तै शाखा अधिकृत मनिकमान महर्जनमाथि तीन करोड ४४ लाख रुपियाँ भ्रष्टाचारको आरोप छ । लेखा अधिकृत रामबहादूर बुढा विरुद्ध १९ करोड ८८ लाख रुपियाँ भ्रष्टाचारको आरोप छ । शाखा अधिकृत शिरिष उपाध्ययमाथि ४० करोड हिनामिना गरेको आरोप छ । इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रा।लि।का निर्देशक रोहितमान प्रधानले २३ करोड ४४ लाख हिनामिना गरेका छन् । यस्तै मपटेक विल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनले ४३ लाख ५७ करोड आर्थिक लाभ लिएको, परामर्शदाता कम्पनी वास्तुशिल्प एसोशिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौंमाथि आठ लाख ६९ हजार भ्रष्टाचारको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *