घुस लिएको आरोपमा प्रहरीले राष्ट्रिय भूमि आयोगअन्तर्गत झापामा कार्यरत करार सेवाका तीन कर्मचारीलाई पक्राउ

घटना

जग्गाको जग्गाधनी प्रमाणपुर्जा दिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोपमा प्रहरीले राष्ट्रिय भूमि आयोगअन्तर्गत झापामा कार्यरत करार सेवाका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।  

ad

झापाको हल्दिबारी गाउँपालिका– १ का गणेशप्रसाद पौडेलबाट अव्यवस्थित बसोवासीको जग्गा दर्ता गर्ने क्रममा घुस ४० हजार लिएपछि भूमि आयोगका कर्मचारीहरू मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।  

भूमि आयोगमा करारमा भर्ना भएका उनीहरू चार महिनाअघिबाट हल्दिबारीमा खटिएका थिए । घुस लिएको कुरा हल्ला भएपछि फिर्ता गर्न पौडेलको घरमा जाने क्रममा उनीहरूलाई प्रहरी, जनप्रतिनिधि र स्थानीयले नियन्त्रणमा लिएका हुन् । अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जाका लागि निश्चित राजस्व रकम लाग्छ । तर, तीनजना कर्मचारीले मिलेमतोमा राजस्वभन्दा दोब्बर पैसा लिएका थिए । रसिद भने आधा रकमको मात्र दिएको खुलेको छ । 

उनीहरूविरुद्ध पौडेलले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । ‘अव्यवस्थित बसोवासीमा गणेशजीले फाराम भर्नुभएको थियो । उहाँको १२ कट्ठा जग्गाको एक लाख १० हजार नौ सय राजस्व आएछ । उहाँ विपन्न हुनुहुन्छ । तिर्न सक्दिनँ भनेपछि ८० हजारमा मिलाएछन् । त्यो ८० हजार कर्मचारीले लिए । जसमध्ये ३९ हजार ६ सयको मात्र रसिद दिए । ४० हजार चार सयचाहिँ घुसबापत लिएछन्,’ हल्दिबारी– १ का वडाध्यक्ष देवीबहादुर थापाले भने, ‘जनप्रतिनिधि र प्रहरीले नियन्त्रणमा लियौँ । उनीहरूले घुस लिएको स्वीकार गरे । पैसा कोठामा छ भने । प्रहरीसँग गएर हेर्दा २३ हजार भेटियो ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *