नेपाल पुलिस क्लबले राख्यो प्रथम वीरगन्ज गोल्डकप

खेलकुद

वीरगन्ज — नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार आदर्शनगर रंगशालामा भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा २–० ले पराजित गरेको हो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रकेरबाट आएको हो । दुवै विभागीय टीमबीच कडा प्रतिस्पर्धा भयो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको गोल असफल भएको थियो । त्यसमा दुई पेनाल्टी पुलिसका गोलरक्षक शत्रुधन चौधरीले रोकेका थिए भने एउटा प्रहार पोलमा र अर्को प्रहार बाहिरिएको थियो ।

आर्मीका नवयुग श्रेष्ठ, विमल पाण्डे, जितेन्द्र कार्की र सन्तोष केसीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन । पुलिसका उज्ज्वल राईले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकेश कुथुले रोक्न सफल भए पनि राम वाजी र बुद्ध तामाङले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भयो । पुलिसका गोलरक्षक शत्रुधन म्यान अफ द म्याच घोषित भए । उनैले उत्कृष्ट गोलरक्षकको उपाधि पाए । डिफेन्समा आर्मीका विमल पाण्डे, मिडफिल्डमा पुलिसका उज्ज्वल राई र प्रशिक्षकमा पुलिसका चेतन घिमिरे उत्कृष्ट भए । विधागतका उत्कृष्टले जनही २० हजार रुपैयाँ पाए । सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ भए । उनले ५० हजार पुरस्कार पाए ।

विजेता टोलीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक र सिल्ड तथा उपमेयर इम्तियाज आलमले उपविजेता आर्मीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक र सिल्ड प्रदान गरे । मधेश प्रदेशमा उच्च धनराशि भएको यस वीरगन्ज गोल्डकपको आयोजना भेट्रान्स सिटी क्लब वीरगन्जले आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *