
पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ।
सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।
कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्षाका कारण खेल ४२ ओभरमा झारिएको थियो।
पाकिस्तानले दिएको २५३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरको अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै सनसनीपूर्ण ढंगले खेल जितेको थियो।
अन्तिम दुई बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। स्ट्राइकमा थिए चारिथ असलंका र प्रमोद मदुशन। ४०.५ ओभरमा शाहिन अफ्रिदीको बलिङमा दुनिथ वेल्लालेज आउट भएपछि प्रमोद आएका थिए।
पाकिस्तानबाट अन्तिम ओभर बलिङ गर्न कप्तान बाबर आजमले जमन खानलाई पठाए।
४१ औं ओभरको समाप्तिमा श्रीलंकाले २४४ रन बनाएको थियो। अन्तिम ओभरको ६ बलमा उसलाई जितका लागि ८ रन आवश्यक थियो।
८ रन आवश्यक रहेको ओभरको पहिलो बलमा प्रमोदले एक रन प्रहार गर्दै असलंकालाई स्ट्राइक दिए। दोस्रो बल डट भयो। तेस्रो बलमा एक रन हान्दै असलंकाले प्रमोदलाई स्ट्राइक दिए।