बंगलादेशमा कर्फ्यू : इन्टरनेट सेवा बन्द को साथै जनजिवन प्रभावीत

अन्तर्राष्ट्रिय

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । 

राजधानी ढाकालगायत धेरै शहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको बीबीसीले जनाएको छ । देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन् । ​

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ ।

प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् बढेको हो । बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन् । 

उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । तर उनको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो ।

किन चर्कियो प्रदर्शन ?
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा शुरू भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो ।

स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँ ठाउँमा र्‍याली गर्दै आएका थिए ।

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थीको प्रहरी र सत्तारूढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिग (बीसीएल)बीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन् ।

छात्र लिग सरकारको योजनाको पक्षमा छ भने अन्य विद्यार्थी आरक्षणले विशेष व्यक्तिलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका हुन् । 

बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *