
काभ्रेमा सात सवारी एकापसमा ठोकिँदा दुई जना घाइते भएका छन् । बुधबार बेलुका करिब ४ बजेको समयमा बनेपा नगरपालिका–१३ साँगामा सबै सवारीहरू एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार साँगाको पुतली रिसोर्ट अगाडि हाइवेको साइडमा रोकी राखेको बा.प्र. ०१००३ क ९९४५ नम्बरको ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आइरहेको बा ६३ प ७ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो । यस्तै बा.प्र.०२–०४४ प ०५७३ नम्बरको स्कुटी र सोही दिशाबाट आइरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा ठोकिन पुग्यो । त्यसपछि बा.प्र–०१–०२६ च ९२३९ नम्बरको योद्धा गाडी बिएसिओ १२३ नम्बरको कारमा गई ठोकिएको थियो ।
यस्तै ना–७ ख ५४१ नम्बरको मालवाहक ट्रक पनि सोही कारमा गई ठोकिएको थियो । दुर्घटनामा काभ्रे पनौती नगरपालिका–२ बस्ने ४८ वर्षीय प्रकाश सापकोटा र बनेपा–५ बस्ने १८ वर्षीया देविना कर्मचार्य घाइते भएका छन् । उनीहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याङ्कर र मालवाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।