२५ तारिखसम्म टिम हेरफेर गर्न मिल्ने भएपछि सन्दीपको फैसला कुर्दै क्यान

खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु स्वभाविक हो ।

यद्यपि, सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्ने क्यान स्रोत बताउँछ ।

टी-२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *