
अकल्याण्ड ।
न्यूजिल्यान्ड नेपाल सोसाइटी इन्कले आफ्नो ३०औँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम अकल्याण्डमा अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सो कार्यक्रममा ७०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसले नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई झल्काएको छ।
कार्यक्रमका प्रमुख अतिथि न्युजिल्यान्ड सरकारकी मन्त्री सम्माननीय करेन चौर रहनु भएको थियो। साथै विभिन्न राजनीतिक दलका सांसदहरू — राष्ट्रिय पार्टीकी सांसद न्यान्सी लु र मेलिसा ली, लेबर पार्टीकी सांसद वनुशी वाल्टर्स र हेलेन ह्वाइट, एक्ट पार्टीकी सांसद डा. परमजीत परमर — लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो। साथै न्युजिल्यान्ड प्रहरीको तर्फबाट जेसिका फुयाङ, नेपाल सरकारका मानद कन्सुल डिनेन्द्र खड्का, एनआरएनए न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्याल, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू पनि उपस्थित हुनु भएको थियो।
कार्यक्रमको सुरुवात पानसमा बत्ती बालेर गरिएको थियो। त्यसपछि न्युजिल्यान्ड र नेपालको राष्ट्रिय गानसहित औपचारिक कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा “सौगात” वार्षिक पत्रिका (Volume 19) को लोकार्पण पनि गरियो।
सांस्कृतिक प्रस्तुतिहरूमा बालबालिकादेखि वरिष्ठ कलाकारसम्मले नेपाली लोकनृत्य, तीज गीत, समूह तथा एकल नृत्य, रचना वाचन लगायतका विविध प्रस्तुति दिएका थिए। पाँच वर्षीय रोझालिया बस्नेतको “आयो तीजको रहर” गीत विशेष आकर्षण बनेको थियो।
कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो भने नेपाली समुदायका विभिन्न संघसंस्था तथा खेलकुद क्लबहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै न्युजिल्यान्ड अर्डर अफ मेरिट प्राप्त गर्नुभएका व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो।
सोसाइटीका अध्यक्ष डा. रोशन खड्काले स्वागत मन्तव्य दिंदै ३० वर्षदेखि नेपाली समुदायको पहिचान, संस्कृति र हितका लागि समाजले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। उपाध्यक्ष तथा कार्यक्रम संयोजक अशोक कडेलले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबैलाई विशेष धन्यवाद दिंदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू अझै भव्य र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांस्कृतिक कार्यक्रमपछि तीज विशेष नेपाली भोजनको व्यवस्था गरिएको थियो। कार्यक्रममा अन्त्यमा सहभागी सबै महिलाहरूले खुलेर तीज नृत्य गर्दै उत्सवलाई अझ रंगीन बनाउनुभयो।


