आसलाग्दो स्वास्थ्यमन्त्री’ प्रदीप पौडेलको नयाँ काण्ड : १८ करोडको स्वास्थ्य उपकरण खरिदमा मिलेमतो, कर्मचारीमार्फत सेटिङ

घटना

काठमाडौँ : स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले मंसिर २३ मा १८ करोडको तीन टेन्डर आह्वान गर्यो। उकेराको अध्ययनमा विभागले तीन वटा मेसिन तथा स्वास्थ्य उपकरण खरिद गर्न सार्वजनिक गरेको टेन्डरका प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरि स्पेशिफिकेशन तयार गरेको देखियो।

मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के-३डी ल्याप्रोस्कोपीक सिस्टम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गरेर खरिद प्रक्रिया अगाडि बढायो।

उकेराले यी तीन टेन्डर आव्हानसँगै सार्वजनिक भएको खरिद कागजातमा भएको मापदण्डबारे अध्ययन गर्दा बदनियतपूर्ण रूपमा स्वतन्त्र प्रतिस्पर्धालाई निशेष गर्दै निश्चित उत्पादक कम्पनीको मेसिन तथा उपकरणको मापदण्डसँग मात्र मिल्ने गरी निर्माण भएको देखियो। यसले खरिद प्रक्रिया सिधै मिलेमतोमा अगाडि बढेको पुष्टि हुन्छ।

उकेराले यसबारे प्रमाणसहित समाचार प्रकाशित गरेपछि विभागले टेन्डर प्रस्ताव गर्ने अवधि १० दिन बढाएको थियो। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर प्रस्तावको म्याद पुस २३ (२०२५, जनवरी ७) बाट १० दिन थपेर माघ ४ (२०२५, जनवरी १७) सम्मलाई पुर्याइयो।

तीन टेन्डरको प्राविधिक स्पेशिफिकेशनमध्ये दुई वटाको संशोधन गर्दै सार्वजनिक पनि गरियो। पुस २८ (२०२५, जनवरी १२)मा दुई टेन्डरको प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन गरेजस्तो गरेर सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा प्रकाशित भयो।

तीन टेन्डरमध्ये ‘ऐनस्थेसिया मेसिन’ र ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ को खरिद मापदण्ड संशोधन भयो। फोके थ्रिडी ल्याप्रोस्कोपिक सिस्टमको स्पेशिफिकेशन संशोधन भएन। दुई वटाको प्राविधिक स्पेशिफिकेशन संशोधन त भयो तर लक्ड गरिएका बुँदा हटेनन्। सोही अनुसार विभागमा टेन्डर प्रस्ताव अगाडि बढेका छन्।

एकै मेसिनमा विभागनिजामती र चितवनको मूल्य फरक

उकेराको अध्ययनमा विभागले अगाडि बढाएको तीन टेन्डरमा मिलेमतो भएको पर्याप्त प्रमाण देखिन्छ। संशोधित स्पेशिफिकेशनको स्वतन्त्र अनुसन्धान हुने हो भने पनि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खटाएका विभागका जिम्मेवार अधिकारीहरूले मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएको प्रस्टै खुल्छ।

त्यसको एक उदाहरण ‘४ के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को स्पेशिफिकेशन लक्ड गरेर मिलेमतो गरेको विषयलाई लिन सकिन्छ।

यस्तै प्रकृतिको मेसिन यसभन्दा अगाडि भरतपुर र निजामती कर्मचारी अस्पतालले समेत किनेको थियो। दुई अस्पतालले किनेको र अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ एउटै किसिमको मेसिन हो। उत्पादक कम्पनी र सप्लायर्स पनि एकै हुन्।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को स्पेशिफिकेशनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’सँग मिल्ने गरी बनायो। अनि कार्ल स्टोर्जकै नेपाली सप्लायर्सलाई दिनेगरी मिलेमतो गरियो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले आह्वान गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को यो टेन्डरमा एउटा मात्रै सप्लायर्स कम्पनी ‘हिमालयन मेडिकल टेक्नोलोजीज् प्रालि (एचएमटी)’ले टेन्डर प्रस्ताव गरेको खुल्यो।

‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्ट अमर श्रेष्ठ हुन्। सामान्यतः उनले ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि (एचएमटी)’बाट टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ।

उकेराले ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्स कम्पनी ‘ ‘(हिमालयन मेडिकल टेक्नोलोजीज् प्रालि (एचएमटी)’लाई नै टेन्डर दिने गरी विभागले प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएकोबारे यस अगाडि नै प्रमाणसहित समाचार प्रकाशित गरिसकेको छ।

विभागले जुन स्पेशिफिकेशन अन्तर्गत खरिद प्रक्रिया अगाडि बढाएको छ त्यो अनुसार अनुमोदन गर्दा महाशाखाले मंसिर २३ मा टेन्डर गरेर खरिद प्रक्रिया अगाडी बढाएको करिब चार करोडको दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को टेण्डर पनि ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजी प्रालि(एचएमटी)ले पाउने निश्चित छ।

उता निजामती कर्मचारी (सिभिल)अस्पतालले २०८० चैत २१ मा मूल्य अभिवृद्धि कर सहित चार करोड ९८ लाख ५५ हजार पाँच सय ५४ मा  ‘कार्ल स्टोर्ज’कै दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ खरिद गरेको थियो। यसरी हेर्दा निजामती अस्पतालले करिब दुई लाख ५० हजार डलरको दरले दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ खरिद गरेको देखिन्छ।

निजामती अस्पतालले खरिद गरेको सात महिनाअघि चितवनको भरतपुर अस्पतालले २०८० साउन १५ गते ‘कार्ल स्टोर्ज’कै ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ एउटा (एक सेट) खरिद गरेको खुल्यो।

भरतपुर अस्पतालले एक करोड ६४ लाख ९८ हजार (एक करोड ४६ लाख  ५० हजार नौ सय ३३ मूल्य अभिवृद्धि कर बाहेक) मा यो मेसिन खरिद गरेको पुष्टि भयो।

यी दुवै अस्पतालमा मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजी प्रालि(एचएमटी)ले टेन्डर पाएको थियो। खरिद प्रक्रिया नरोकिए विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको यो टेन्डर पनि उसैले पाउनेमा कुनै सन्देह छैन।

चितवनको भरतपुर अस्पताल, काठमाडौँको निजामती कर्मचारी अस्पतालमा किनिएको अनि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको अहिले खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ एउटै किसिम मेसिन हो।

भरतपुरले ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’मा क्यामेरा हेड मात्रै ‘टु डी’को माग गरेको थियो। जसले मूल्यमा २०-२५ लाख रुपैंया मात्र अन्तर हुने देखिन्छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा  विभागको महाशाखाले ‘४के-३डी र ‘२डी’ क्यामेरा हेड सिस्टम हुनुपर्ने मापदण्ड राखेको छ। यसमा ‘२डी’ क्यामेरा हेड मात्र थपेको देखिन्छ।

यसले मूल्यमा मेसिनको मूल्यमा २५ लाख रुपैंया मात्र अन्तर हुने देखिन्छ। सार्वजनिक भएको अन्य दुई ठाउँको मेसिनको स्पेशिफिकेशन हेर्ने हो भने उस्तै छ। टेन्डर पाउने उत्पादक कम्पनी पनि एउटै नै हो। तर, एकै किसिमको मेसिन भरतपुर र निजामती कर्मचारी अस्पतालले फरक-फरक मूल्यमा किनेको थियो। र विभाग किन्ने प्रक्रियामा गएको मेसिन पनि त्यही हो।

यसरी हेर्दा डेढ वर्ष भित्रमा तीन ठाउँमा टेन्डर भएका एकै किसिमको मेसिनको मूल्यमा अस्वाभाविक अन्तर देखिन्छ। भरतपुर अस्पतालले किनेको मूल्यको तुलनामा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले प्रक्रिया अगाडि बढाएको खरिद मूल्य महँगो देखिन्छ।

खरिद भएको मेसिनको मूल्य हेर्ने हो भने निजामती कर्मचारी अस्पतालले ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ अझैँ महँगोमा किनेको देखिन्छ। निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले यो मेसिन मिलेमतोमा महँगो दरमा किनेका हुन्।

भरतपुर अस्पतालले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को वारेन्टीको समय पाँच वर्ष छ। यता निजामती कर्मचारी अस्पतालले खरिद गरेको सो मेसिनको वारेन्टीको समय तीन वर्ष मात्रै छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद गर्न लागेको यही मेसिनको वारेन्टीको समय पनि तीन वर्ष मात्रै हो। विभागको महाशाखाले खरिद गर्न लागेको करिब उस्तै मूल्यको, उही किसिमको ‘सिस्टम’को मेसिनको वारेन्टीको समय किन तीन वर्ष?

वारेन्टीको समय जति कम राख्यो उति नै मेसिनको मूल्य पनि कम हुन्छ। विभागले मेसिनको वारेन्टी तीन वर्ष राखे पनि बजेट सिलिङ भने भरतपुरमा किनिएको मेसिनभन्दा बढी मूल्य राखेको देखिन्छ। तर वारेन्टीको समय चाहिँ कम छ। यसबाट समेत खरिद प्रक्रियामा मिलेमतो र बदनियत रहेको पुष्टि हुन्छ।

तीन वटै टेन्डरका स्पेशिफिकेशनका बुँदामा उस्तै लक्ड

निजामती कर्मचारी अस्पताल अनि भरतपुर अस्पतालले किनेको अनि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशन उस्तै मात्रै हैन हुबहु कपिपेष्ट नै छ।

व्यवस्थापन महाशाखाको टेन्डर प्रक्रियामा रहेको र निजामती कर्मचारी अस्पतालले किनेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको ‘डिस्क्रिप्सन अफ फेशन’को भाषा हुबहु छ भने भरतपुर अस्पताले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको ‘डिस्क्रिप्सन अफ फेशन’मा कतिपय शब्द परिवर्तन देखिन्छ। भाषा भने उही नै छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको टेन्डर प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘ए’को ‘डिस्क्रिप्सन अफ फेशन’मा ‘अ मिनिरल इन्भेजिव सर्जरी इमेजिङ सिस्टम अप्टिमाइजेज् लाइट कलर, एण्ड रिशोलुशन…दी क्यामेरा सिस्टम सुड अलो थ्रिडी भिजुअलाईजेशन इन ल्याप्रोस्कोपिक, गाइनेक्लोजी, युरोलोजी, इएनटी इटीसी…’उल्लेख छ। जुन स्पेशिफिकेशन निजामती कर्मचारी अस्पतालले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को स्पेशिफिकेशनको भाषा हुबहु नै कपिपेष्ट गरेर राखिएको छ।

व्यवस्थापन महाशाखाको टेन्डर प्रक्रियामा रहेका ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘सी’ र ‘डी’मा भएका सबै बुँदाहरू निजामती र भरतपुर अस्पतालले खरिद गरेको मेसिनसँग करिब हुबहु मिल्छ। मेसिन मिलेमतोमा किन्न लागेको यो भन्दा बलियो प्रमाण अरू के हुन्छ?

व्यवस्थापन महाशाखाको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२’ अन्तर्गत भएको प्रोसेसरको बुँदाहरू पनि निजामती र भरतपुर अस्पतालमा खरिद भएको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनसँग मिल्छ। 

उदाहरणका लागि व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.१’ र निजामती अस्पतालले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को बुँदा नम्बर ‘१.१’मा एउटै भाषा प्रयोग गर्दै ‘दी प्रसेसर सुड सपोर्ट २डी इन ४के (३८४०*२१६०) रिशोलुशन एण्ड ३डी इन ४के (३८४०*२१६०) रिशोलुशन’लेखिएको छ। भरतपुर अस्पतालले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को बुँदा नम्बर ‘३.१’मा ‘दी प्रसेसर सुड सपोर्ट २डी इन ४के (३८४०*२१६०) रिशोलुशन एण्ड ३डी इन ४के (३८४०*२१६०) रिशोलुशन’लेखिएको छ।

यी बुँदा हेर्दा विभागको महाशाखा र निजामती अस्पतालको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को भाषा नै सर्लक्कै एउटै छ भने भरतपुरकोमा सबै भाषा उही छ, ‘(३८४०*२१६०)’,‘(३८४०*२१६०)’ मात्रै राखिएको छैन। महाशाखा, निजामती र भरतपुर अस्पतालको यी बुँदामा भएका स्पेशिफिकेशन मिलेमतोमा हुबहु कपिपेष्ट गरेर लक्ड गरेको पुष्टि हुन्छ।

व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको विशेष गरी बुँदा नम्बर ‘१’, ‘२’, ‘३’ अन्तर्गतका सबैजसो बुँदाहरू निजामती अस्पतालले खरिद गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ को प्राविधिक स्पेशिफिकेशनका बुँदा नम्बर ‘१’, ‘२’, ‘३’, ‘४’, ‘५’, ‘६’ र भरतपुरको ‘१’, ‘२’, ‘३’, ‘४’ भएका मापदण्ड करिब हुबहु नै छन्।

यसरी तीन फरक-फरक स्वास्थ्य संस्थामा भएको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’का प्राविधिक स्पेशिफिकेशनका बुँदाहरूका मापदण्ड कपिपेष्ट गरिएको देखिन्छ। 

दुुई अस्पतालले मिलेमतोमै किनेेको देखियियो। यता विभागले निकालेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को टेन्डरको प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदा हेर्दा ‘कार्ल स्टोर्ज’लागि मात्रै मिल्ने गरी लक्ड गरेर सर्लक्कै कपिपेष्ट गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको प्रस्ट देखिन्छ। यसको प्राविधिक स्पेशिफिकेशन संशोधन नहुनुले विभागको खरिद मिलेमतोमा अगाडि बढेको प्रस्टै हुन्छ।

महाशाखाले टेन्डर आह्वान गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३२–एमडी–२०८१–८२’ हो।

दुई टेन्डरमा बलमिच्याइँ

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले एकै पटक निकालेको दुई टेन्डर पनि सेटिङ अनुसार नै अगाडि बढाएको पुष्टि हुन्छ। दुबै टेन्डरको स्पेशिफिकेशन लक्ड छ।

व्यवस्थापन महाशाखाले मंसिर २३ मा सात करोड २० लाखमा ‘ऐनस्थेसिया मेसिन’ किन्न टेन्डर आव्हान गर्यो। ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशन (मेसिनमा के–के सुविधा र विशेषता हुनुपर्ने निश्चित गर्ने मापदण्ड) हेर्दा भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगका बुँदा नै कपिपेष्ट गरिएको छ टेन्डरको स्पेशिफिकेशन बनाएकोबारे उकेराले स-प्रमाण सार्वजनिक गरिसकेको छ।

यसले टेन्डर आव्हान गर्नु अगाडि नै ‘बीपीएल’को ‘इ–फ्लो’ को नेपाली सप्लायर्सले प्रस्ताव गर्ने मापदण्ड मात्र पास हुने गरी स्पेशिफिकेशन बनाएको प्रस्टै देखिन्छ। स्पेशिफिकेशन संशोधनपछि पनि लक्ड गरिएका बुँदाहरू हटेका छैनन्।

बीपीएल को इ–फ्लोको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालि र सञ्चालक पोस्टराज ज्ञवाली हुन्। अहिले विभागले चाहेकै सप्लायर्स कम्पनीलाई दिनेगरी ‘ऐनस्थेसिया मेसिन’को टेन्डर प्रक्रिया अगाडि बढेको छ।

महाशाखाले मंसिर २३ मै सात करोड २० लाखको बजेट सिलिङ राखेर ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि गरेको टेन्डरको पनि प्राविधिक स्पेशिफिकेशनको एउटा बुँदा संशोधन गर्यो। तर, त्यो बुँदा झारा टार्ने गरी संशोधन गरेको देखिन्छ। संशोधित बुँदाले लक्ड गरिएको प्राविधिक स्पेशिफिकेशनलाई खुला गराउँदैन।

महाशाखाले एउटै टेन्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी)’ र ‘इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन) ४ सय वाट’को टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढायो।  जसमध्ये ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी) २५ सेट’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’ ५० सेट खरिदका लागि टेन्डर भएको टेन्डरमा प्राविधिक स्पेशिफिकेशन नै लक्ड  गरेर खरिदमा मिलेमतो गरिएको छ।

टेन्डरको स्पेशिफिकेशनले यो इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढाएकोबारे यसअघि नै उकेराले प्रमाणसहित सार्वजनिक गरिसकेको छ। यसको नेपाली सप्लायर पर्सा इम्पोरियम हो। यसको सञ्चालक शशी श्रीवास्तव हुन्।

युवामन्त्री पौडेल पनि सेटिङमै !

खरिद कानुनले स्वास्थ्यमन्त्रीको कहिकतै प्रत्यक्ष भुमिका देखिदैन। हिजोका दिनमा भएको खरिदमा पनि थिएन। र अहिले भएको खरिदमा पनि कानुन अनुसार मन्त्री खरिद निर्णयमा प्रत्यक्ष संलग्नता देखिदैन। तर मन्त्री सहमत नभई टेन्डरमा कर्मचारीलेले मात्र मिलेमतो गर्न सम्भव हुन्न।

​​​​​​​मन्त्रीले निर्णय नगरे पनि आफू अनुकुलका कर्मचारीलाई खरिदको निर्णायक स्थान पठाएर मिलेमतो गर्ने हो।

हिजोका दिनमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, विरोध खतिवडा, भवानी खापुङ, मोहन बस्नेत, उपेन्द्र र प्रदीप यादव स्वास्थ्य उपकरण, मेसिन तथा स्वास्थ्य सामग्री खरिदको मिलेमतोमै संलग्न देखिए।त्यसपछि पालो आयो युवा नेता प्रदीप पौडेलको।

गठबन्धन बदलिएपछि पौडेल नेपाली कांग्रेसको कोटामा स्वास्थ्यमन्त्री भए। उनले स्वास्थ्य क्षेत्र सुधारका पक्षमा धेरै वाचा गरे। मन्त्रालय अन्तर्गतका सेवाहरु निशुल्क गर्ने धेरै घोषणा गरे। तर आर्थिक अपचलनमा जोगिन खुला प्रतिष्पर्धा गराउन निर्देशन दिनुपर्ने खरिदमा भने मिलेमतोमै सहभागी देखिए।

यसको सबैभन्दा बलियो उदाहरण स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले अगाडि बढाएको  खरिद प्रक्रियामा नै हो। पौडेल मन्त्री भएपछि यसले जति पनि खरिद प्रक्रिया अगाडि बढाएको छ ती सबै मिलेमतोमै अगाडि बढेको देखिन्छ।

विभागका महानिर्देशक डा. विकास देवकोटा मन्त्री पौडेलले नै बनाएका हुन्। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायामाझी, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति व्यवस्थापन शाखा प्रमुख दयाकृष्ण पन्त मन्त्री पौडेलले नै पठाएका कर्मचारी हुन्। खरिद मिलेमतोका नाइके यी तीनै हुन्।

खरिद सुधार्न या आफू अनुकुल बनाउन मन्त्रीले निर्णायक स्थानमा आफ्नो विश्वासिला ब्यक्तीहरु लैजाने प्रक्रिया पुरानै हो। ती सबै मन्त्रीस्तरीय निर्णयबाट विभाग गएका हुन्। मन्त्रीले चाहेमा सरुवा गर्न गाह्रो हुन्न। 

हिजोका मन्त्रीहरूले पनि खरिदको निर्णय गर्ने स्थानमा आफ्ना विश्वासिला कर्मचारी लगेर निश्चित कम्पनीको सप्लायर्सको फाइदामा काम गराउँथे। मन्त्री पौडेलले पनि त्यही गरिरहेका छन्।

यसमा हिजोका दिनदेखि मिलेमतो अनुसार टेन्डर कागजात मिलाउने दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आषिश चौहान त्यही जिम्मेवारीमै कार्यरत छन्।

यसमा पछिल्लो समय स्वास्थ्यमन्त्री पौडेलको पारिवारिक सदस्यहरूको नाम समेत जोडिएको छ। यसमा उनको श्रीमती एन्जीला न्यौपाने र उनको सल्लाहकार समूहका सदस्य समेत सक्रिय देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *