इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको शव आज बिहान काठमाडौं ल्याई श्रद्धाञ्जली अर्पण

सबै

इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।

उनले प्यालेस्टिनी आतंकवादीको आक्रमणमा परी मृत्यु भएका १ हजार ४०० जनाको शव इजरायलमा रहेको भन्दै ती शव पहिचान गरेर पठाउने क्रम जारी रहेको जानकारी दिए ।

उनले इजरायलमा बेपत्ता विपिन जोशीलाई खोज्न अन्तर्राष्ट्रिय समुदाय र सहयोगी संस्थामात्र नभइ हमासलाई पनि खोजीका लागि आह्वान गरेको जानकारी दिए । इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ । अन्य ६ जना नेपालीको शव भने पहिचान गर्नेे र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरुले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *