इजरायल आक्रमणमा ज्यान गुमाउनेको संख्या सात सयभन्दा बढी

अन्तर्राष्ट्रिय

प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी संगठन हमासले गरेको आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा सात सयजनाको मृत्यु भएको छ। ज्यान गुमाउने संख्या पुष्टि गर्दै  इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’को घोषणा गरेको छ। 

हमासले इजरायलविरुद्ध गरेको इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा चार सय १३ जनाको मृत्यु भएको छ। इजरायली भूमिमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेका वेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ।

हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकुले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायलाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडिएफ)का सैनिकसँग झडप भएको छ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाडनजिकैको ग्रामीण कृषि क्षेत्रमा एक संगीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब दुई सय ६० जना युवती र पुरुषको अवशेष संकलन गरिएको जनाएको छ।

आइतबार राति पनि महोत्सवमा सहभागी धेरैजना हराइरहेका थिए। हमासले इजरायलमा हजारौँ रकेट प्रहारसहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन्।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकु विमान पठाउन लागेको बताएको छ ।

अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन्।

पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायुसेनाको एफ– ३५, एफ– १५, एफ– १६ र ए– १० लडाकु विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ। उनले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोतसाधन द्रुत गतिमा उपलब्ध गराउने बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *