
नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’
अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् ।एक्सपोर्ट–इम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको सुनाए ।


