
धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले कारवाही गर्नुपर्ने मागसहित पेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन्।
एमाले नेता तथा निवर्तमान सांसद राजेन्द्र कुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन्।
शुक्रबार बसेको पाख्रीवास नगरपालिकामा कार्यरत कर्मचारीहरूको बैठकले राईलाई कारवाही गर्नुपर्ने र कर्मचारीको सुरक्षाको माग गर्दै पेन डाउन गरेर सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा नेता राईले बिहीबार कार्यालय समयमा पौडेललाई फोन गरी अत्यन्त अपमानजनक, असभ्य, अराजक र अपराधिक मनोवृत्तिबाट ग्रसित मनासायले धम्की दिएकोप्रति आपत्ति जनाएको उल्लेख छ।
बैठकले अति गम्भीर र अति संवेदनशील शब्द वाक्यहरूबाट गाली गलौज र अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की समेत दिएकाले त्यसको घोर भत्सना गर्दै अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कामकाज बन्द गरी पेन डाउन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृतले बताए।


