
काठमाडौँ।
प्रसिद्ध गायक प्रकाश सपूत गायक मात्र होइनन्, उनी व्यस्त मोडल पनि हुन् । अब भने उनले थप अर्को परिचय बनाउने तरखरमा छन् । असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’मार्फत उनी चलचित्र अभिनेता बन्दै छन् ।
यति बेला उनी सबै काम छोडेर सो चलचित्रको प्रचारप्रसारमा देश दौडाहामा निस्केका छन् । दुई दिनदेखि नेपालगन्जमा रहेका सपूतले आफ्नो पहिलो चलचित्र भएका कारण एकदमै उत्साहित रहेको बताएका छन् । आइतबार चलचित्र पत्रकार सङ्घ नेपाल बाँके शाखासँग साक्षात्कार गर्दै उनले चलचित्रमा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो अहिले पनि त्यही उत्साह रहेको बताए ।
उनले भने, “जब मैले यो चलचित्रमा अभिनय गर्ने निर्णय गरेको थिएँ, त्यति बेला अहिलेको जस्तो चर्चा-परिचर्चा थिएन । त्यो सुरुवातमा चलचित्र गर्दै छु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।”
साक्षात्कार पछि चलचित्र टिमले चलचित्रको कथा सार बुझाउने नाटक समेत प्रस्तुत गरेको थियो । चलचित्रको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरूसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरू निकै खुसी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि चलचित्रको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै चलचित्रको टिम काठमाडौँ फर्किनेछ ।
राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायाङ्कन, बि.बि अनुरागी र नारायण रायमाझीको सङ्गीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।