जनैपूर्णिमाको खास परिकार हो क्वाँटी, कसरी खाने क्वाँटी ?

सबै

जनैपूर्णिमाको खास परिकार हो क्वाँटी । जसरी दसैँमा मासु, तिहारमा सेलरोटी, माघे संक्रान्तिको दिन चाकु, तिलको लड्डु, खिचडी खायार मनाइन्छ त्यसै गरी जनैपू्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडी मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रेपछि त्यसलाई क्वाँटी बनाइन्छ ।

क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् । क्वाँटीमा चना, मस्याङ, मुङ, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ गरी कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएर बनाइन्छ । जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्दछ । त्यस्ता पोषक तत्त्व खानेकुराको माध्यमबाट प्राप्त हुने हो । त्यसैले सन्तुलित आहारहरु मध्ये अंकुरित गेडागुडी पनि एक हो जसले शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन मद्दत गर्दछ।

कसरी खाने क्वाँटी ?

गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । साँधेर पनि खानसकिन्छ त्यो मीठो र पोषिलो पनि हुन्छ । क्वाँटीको झोल बनाएर पनि खान सकिन्छ यसले ऊर्जा दिन्छ । साथै क्वाँटीको तरकारी चिउरा खाजाको रूपमा पनि खान सकिन्छ । चाउचाउ बिस्कुट जस्ता खाजाको सट्टामा क्वाँटीको तरकारी खाँदा पाचन प्रक्रिया पनि राम्रो हुन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ । अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ । बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि लाभदायक हुन्छ । यसले पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले पनि एकदमै राम्रो हुन्छ । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु समय-समयमा खाइरहनुपर्छ अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।टुसा उम्रिएको गेडागुडीको सेवन दैनिक रूपमा गर्नु एकदमै राम्रो हो । त्यसैले कुनै पनि सन्तुलित खानेकुरा वर्षमा एक दिन मात्र खाने बानी हटाएर समय-समयमा खाइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *