
काठमाडौँ, जेठ १९-
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् । शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए ।
उनले आफूहरू विश्वकपका लागि उत्साहित रहेको समेत बताए । उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयारी भइसकेको बताए । पौडेलले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने समेत दाबी गरे ।
विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ । हामी तयारीमा छौँ । सबै जना साथमा हुनुहुन्छ’ उनले भने, ‘बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।’


