
काठमाडौँ – सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन्।
सरकारले असार ७ गते गणतन्त्र कोरिया (दक्षिण कोरिया)को लागि राजदूत सिफारिस गरेको थियो।
उनले आफूलाई राजदूत बनाउने निर्णय फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर आग्रह गरेका हुन्।
प्याकुरेलले विज्ञप्तिमार्फत भने, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु । यसवीच मनाई बधाई, शुभकामना दिदै मप्रति सद्भाव प्रकट गर्न हुने सबैमा धन्यवाद ज्ञापन गर्दछ।’
एमालेको कोटामा सिफारिस भएका प्याकुरेलले सिफारिस गर्नुअघि आफूसँग सरकारले सामान्य सोधपुछसम्म नगरेको गुनासो गरेका छन्। हचुवाका भरमा राजदून नियुक्त गर्ने परिपाटी देशकै लागि हानिकारक रहेको उनले उल्लेख गरेका छन्।
‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अधि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन् । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुधि सम्वन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु, प्याकुरेलले अगाडि भनेका छन्,
‘यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु।’



