नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ बन्ने

घटना कला नेपाल

साढे दुई महिनाभित्र ठेक्का सम्झौता गरिने

चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्नेगरी नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।जसअनुसार दुबै काम ठेक्का लिने पक्षले गर्नुपर्ने छ । पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका अनुसार नयाँ निर्माण गरिने पुल ४२० मिटर लामो हुने छ । ‘बनिरहेकाभन्दा फरक र आकर्षक पुल निर्माण गर्न लागिएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘जुन पुल नेपाल सरकारले आफ्नै लगानीमा बनाउने हो ।’ अहिले भइरहेको पुल भन्दा तल्लो वा माथिल्लो भाग कता बनाउने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

‘मिलेसम्म माथिल्लो भागतिरै बनाउने हो, ठेक्का सम्झौता गर्दासम्म कुन साइडमा बनाउने भनेर टुंगो लाग्ने छ,’ उनले भने, ‘पुल दुई लेनको हुने छ ।’ पुरानो पुल पनि चलिरहने छ । पछि आवश्यक परे दुई लेनको थप अर्को सिग्नेचर ब्रिज नै निर्माण गर्न सकिने उनले बताए । पर्यटक आकर्षित गर्नेगरी पुल निर्माण गरिने छ । लागत एक अर्ब बढी लाग्ने जनाइएको छ । पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई एसिएन हाइवे मापदण्ड अनुसार चार लेनमा स्तरोन्नति गर्न लागिएकाले नारायाणीमा पुल थप गर्न लागिएको हो । साढे दुई महिनाभित्र यसको ठेक्का सम्झौता भइसक्ने पुल महाशाखाले जनाएको छ । अहिलेको नारायणी नदीको पुल २०३८ सालदेखि सञ्चालनमा आएको हो । पुलबाट दिनमा करिब १५ हजार सवारीसाधन ओहोर-दोहोर गर्छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *