वीरगन्ज : ७औं परसवा गोल्डकप फुटबलको उपाधि पर्साको निचुटाले जितेको छ। पर्साको जिराभवानी गाउँपालिका-३ परसवास्थित खेलमैदानमा शनिबार भएको फाइनल खेलमा भारत बिहारको जय हिन्द एभरेष्ट क्लब इनरवालाई १-० गोलले पराजित गर्दै निचुटाले उपाधि जीतेको हो।
निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको २६औं मिनेटमा निचुटाका लागि विवेक चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उपाधिसँगै निचुटाले नगद ३ लाख ५० हजार र उपविजेता जय हिन्द एभरेष्ट क्लबले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
फाइनल खेलको म्यान अफ दी म्याच निचुटाका सागर चौधरी घोषित भए। प्रतियोगिताको म्यान अफ द सिरिज जय हिन्द एभरेष्ट क्लब इनरवाका लियो घोषित भए। लियोलाई चाँदीको बल प्रदान गरियो। त्यस्तै प्रतियोगिताको बेष्ट स्कोरर निचुटाका सागर चौधरी घोषित भए। चौधरीलाई चाँदीको जुत्ता प्रदान गरियो।
आयोजक क्लबका अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता र उपविजेता टिमलाई गाँउपालिका अध्यक्ष अनोज चौधरीले ट्रफी र मेडल प्रदान गरे।



