निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’

समाचार

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् ।

न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे ।
उनले भने, ‘निहारीकाले जुन माग उठाइरहेका छन्- मेरो डिएनए टेस्ट गर्नुपर्ने माग उठाइरहेका छन्, म रेडी छु । उसलाई डिएनए टेस्ट गराउनु छ भने प्रक्रिया अगाडि बढाउनुपर्ने नि । काठमाडौंमा अनसन बसेर मात्रै त हुँदैन । सुरुदेखि नै डिएनए टेस्ट गराउन रेडी छु भन्दै आएको छु ।’

निहारिकासँग आफ्नो प्रेम सम्बन्ध भएको पनि शिवराजले स्वीकारे । उनले भने, ‘उसको (निहारिका) र मेरो प्रेम सम्बन्ध थियो । साथीबाट सुरुमा चिनेका थियौँ । पछि कुरा हुँदै गयो । हाम्रो प्रेम पनि बस्यो । साढे तीन-चार महिना हाम्रो प्रेम सम्बन्ध चलेको थियो ।’२१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्याय मागिरहेकी छन् । आफू १७ वर्षकी छँदा नै शिवराजले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।०७६ कात्तिक ६ गते धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको भन्दै उनले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन् ।

जाहेरी दर्तापछि शिवराज पक्राउ परेका थिए । पुर्पक्षका लागि जेल चलान पनि भएका थिए । ०७८ माघ २४मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको फैसला सुनाएको थियो । त्यसपछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटेका थिए ।शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनसन बसिन् । प्रहरीको हस्तक्षेपपछि उनको अनसन बिथोलियो ।उनले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन् । र, अहिले उनी काठमाडौंमा न्याय माग्दै भौतरिरहेकी छन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने र आफूलाई बलात्कार गर्नेमाथि कारवाही हुनुपर्नेलगायतका माग राख्दै आएकी छन् ।

गत असार दुई गते सरकार र निहारिकाबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्ने, उनको र छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह र महिला बालबालिका मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको थियो ।सरकारले उक्त सहमति पालना नगरेपछि उनी फेरि अनसन बसिन् । साउन २२ गते सर्वोच्चले अदालतको गेटमा अनसन बस्न गइन्, त्यहाँबाट प्रहरीले हटायो । त्यसपछि सिंहदरबारको दक्षिण गेटमा आमरण अनसनमा बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

चित्कार कसैले नसुनेपछि उनी आत्मदाहको प्रयास समेत गरिन् । गत शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । एक बोतल पेट्रोल आफ्नो शरिरमा खन्याइन् । अर्का बोतल खन्याएर शरीरमा आगो लगाउने योजनामा थिइन् । तर, उनलाई प्रहरीले देख्यो । र, बचायो ।उनको काखमा अहिले झण्डै दुई वर्षको बच्चा छ । ‘कुमारी’ आमा बनेयता निरन्तर काुननी लडाइँ लड्दै एकल जिम्मेवारीमा बच्चा हुर्काइरहेकी छन् । उनलाई माइतीबाट पनि साथ छैन । बच्चा जन्माएपछि परिवारले घरबाट निकाले । र, अहिलेसम्म घरमा प्रवेश पाएकी छैनन् । राज्यले पनि उनीप्रति खसौ चासो देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *