
चितवन, भदौ ३१ गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गरियोस् भन्ने माग गर्दै भोलि असोज १ गते ११ बजेदेखि आमरण तथा रिले अनशन बस्ने घोषणा गरेको छ । प्रेमनिधि भारद्वाजले आमरण अनशन गर्नुहुनेछ भने अन्य २५ जनाले दैनिक १२ घन्टाको रिले अनशन गर्नुहुनेछ। आज ( भदौ ३१) पत्रकार महासंघ चितवनको हलमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो घोषणा गरेको हो । उक्त अनशन कार्यक्रमलाई ‘सनातन संस्कृति संरक्षण सत्याग्रह’ नाम दिइएको छ ।

परिषद्ले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, सम्पूर्ण पालिकाहरूमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, नेपालका जातजाति तथा उपजातिहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी राष्ट्रिय सनातन आयोग गठन गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, कालीगण्डकी (कृष्णागण्डकी) लाई जीवित आस्था (देवी) का रूपमा स्वीकार गर्दै नेपाल सम्पदा सूचीमा सूचीकृत गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने र नेपालका विभिन्न नदीनाला, ताल–तलाउ, कुण्ड आदिमा रहेका परम्परागत घाटहरू (स्नान तथा श्मशान) को व्यवस्थित निर्माण गर्नुपर्ने राष्ट्रिय र २०७६ वैशाख १ गतेदेखि नित्य संचालनमा रहेको महाआरतीस्थललाई आवश्यक सुरक्षित स्थान उपलब्ध गराउनुपर्ने , महाआरतीका लागि महानगरबाट संचालनार्थ आर्थिक सहयोगको प्रबन्ध गर्नुपर्ने, भरतपुर महानगरबाट प्रदान गरिने छात्रवृत्तिहरू वितरण गर्दा धार्मिक संघसंस्था ,गुरुकुलमा बसेर अध्ययन गर्ने छात्र-छात्राहरूका लागि नि:शुल्क अध्ययन गर्न र अनाथालय संचालन गर्न वार्षिक आर्थिक बजेट प्रदान गर्नुपर्ने स्थानीय माग राखेको छ । परिषद्का अध्यक्ष तथा संयोजक प्रेम निधि कँडेल भारद्वाजले सनातन संस्कृतिको संरक्षण गर्न अर्को विकल्प नदेखिएको भन्दै आफूले भोलि असोज १ गतेदेखि चितवनको नारायणघाटमा हाल नित्य चलिरहेको गण्डकी–नारायणी महाआरतीस्थल नारायणी नदी किनारमै आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ। उहाँले आगामी चुनावमा धर्मनिरपेक्ष पक्षधर पार्टी तथा उमेदवारलाई मतदान नगर्न आग्रहसमेत गर्नुभएको छ। उहाँ लगायत चार जना युवाहरूले २०७२ सालमा पनि हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राखी काठमाडौँमा अनशन बस्नुभएको थियो ।


