
पर्सा — “जन सेवा अभियान” अन्तर्गत डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा आज पर्सागढी नगरपालिका वडा नं. ०४ स्थित बर्वाछोटैली विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा कक्षा १० का विद्यार्थीहरूका लागि प्राथमिक उपचार र CPR (Cardiopulmonary Resuscitation) तालिम सम्पन्न भएको छ।
स्वास्थ्य शिविरमा बढ़नीहार आँखा तथा दन्त अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा विद्यार्थीहरूसँगै स्थानिय बालबालिकाहरूको पनि स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक डॉ. चन्द्र भुषण सिंहले कक्षा १० का विद्यार्थीहरूलाई प्राथमिक उपचारका आधारभूत सिप, CPR दिने तरिका, र मानव शरीरको तापक्रम, रक्तचाप, मुटुको धड्कन र स्वासप्रश्वासको गति नाप्ने तरिका बारे व्यवहारिक तालिम दिएका थिए।
स्वास्थ्य परीक्षणको क्रममा धेरै बालबालिकामा दाँतमा किरा लाग्ने समस्या (Dental Caries) र दूर दृष्टि कमजोर हुने समस्या (Myopia) व्यापक रुपमा देखिएको छ। डॉ. सिंहले यी समस्यालाई गम्भीर रूपमा लिएर विद्यालय स्तरमै ‘Screening and Early Diagnosis’ मा आधारित स्वास्थ्य शिविरहरू आवश्यक रहेको बताएका छन्।
स्थानिय स्तरमा यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन ठूलो टेवा पुग्ने भन्दै अभिभावकहरू तथा विद्यालय प्रशासनले स्वास्थ्यकर्मी टोलीप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रम सफलताका साथ सम्पन्न गर्न स्थानीय शिक्षक, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको विशेष सहयोग रहेको थियो। “जन सेवा अभियान” अन्तर्गत यस्ता शिविरहरू आगामी दिनहरूमा अन्य विद्यालय र टोलटोलमा पनि संचालन गरिने डॉ. सिंहले जानकारी दिएका छन्।


