
संविधान जारी नगरी पहिलो संविधानसभा अस्ताएपछि शून्यताले राज गर्दै गरेको बेला थियो। संविधान बनाउन नसकेको दोष अर्को दलमाथि थोपरिरहेका नेताहरूले दोस्रो संविधानसभा चुनावका लागि खिलराज रेग्मी ल्याउन भने भव्य ‘राष्ट्रिय सहमति’ गरेका थिए।
दलहरूले खिलराज ल्याए, खिलराजले लोकमान। दलहरूले एकपछि अर्को नगर्नुपर्ने गर्दै गए, गर्नुपर्ने गरेनन्। यसरी शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक सबैथोकमा ‘मेलमिलाप’ गरेर कांग्रेस, एमाले, माओवादीले आफ्नो ऐतिहासिक अयोग्यता देखाएका बेला शम्भु थापासहित केही नागरिक अगुवाले दलहरूका मुख्यालय घेर्ने निधो गरेका थिए।
त्यसबेलाका क्रमशः तीन ठूला दलहरूमध्ये उनीहरू माओवादी, कांग्रेसका शीर्ष नेता भेट्न गए। त्यसपछि नागरिक टोली तत्कालीन तेस्रो ठूलो दल एमालेको मुख्यालय बल्खु हिंड्यो। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, ‘प्रभावशाली नेता’ केपी ओली उनीहरूलाई सुन्न अगाडि बसे।
थापाले स्वभावतः मुखैले माइकजत्रो आवाज निकाले, ‘तपाईंहरूलाई हराउन लाग्नुपर्ने भो। हामीले कांग्रेस र माओवादीका नेतालाई पनि यो कुरा भनिसक्यौं। केवल एउटै आग्रह छः दुई–दुई ठाउँबाट चुनाव नलडिदिनुहोला। हामी त पेशाकर्मी मान्छे। हराउने प्रचारमा धेरै ठाउँ दौड्ने समय हामीसँग छैन।’
शान्त सौम्य मानिने अध्यक्ष खनाल यति सुनिसक्दानसक्दै उठेर हिंडे। माधव नेपालको बानी पनि लोकको जानकारीमै छ। बाँकी रहे ओली। त्यसअघिको चुनावमा हार्ने नेतामध्ये उनी पनि त थिए। तर ओलीले भने बस्ने विचार गरे।
उनले थापालाई सोधे, ‘हामीलाई नै किन हराउनुपर्ने ?’ यो माथिको प्रसंग २०७९ साउन ११ गते अनलाइनखबर मा प्रकाशित लेखमा बसन्त बस्नेतले लेखेका हुन्।सो लेखमा त्यसपछि थापाले के जवाफ दिए भन्ने बारेमा लेखिएको छ। लेखमा भनिएको प्रसंगको सवालजवाफ भएको एक दशक नाघिसकेको छ। त्यतिबेलाका सक्रिय शम्भु थापाको हालको अवस्थाका बारेमा पङ्तिकार अनभिज्ञ छ। तर उस्तै उस्तै लाग्ने अभियान भने पुन: उठेको छ- पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्ने।
यद्यपि, थाहा पाउनुपर्ने कुरा के हो भने एक दशकअघि प्रभावशालीहरूलाई हराउने र अहिले पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्ने प्रसङ्ग उस्तै लाग्छन्। तर उस्तै होइनन्। प्रश्न सोध्नेहरू पनि उही व्यक्ति होइनन्, उही पुस्ता होइन। जवाफ दिनेहरू उही छन्, यो चैं दुर्भाग्यपूर्ण हो।
अहिले एक दशकपछि कसैले पूर्वप्रधानमन्त्रीहरूलाई बिदाबारी गर्नै पर्ने भो भनिरहँदा केपी ओलीसँग ‘हामीलाई नै किन हराउनुपर्ने ?’ भन्ने प्रश्न सायदै होला। आफू र आफ्ना समकालीन पूर्वप्रधानमन्त्रीहरूको देखाउने अनुहार, नदेखाउने छायाँ र गतिविधिहरूबाटै यस्तो प्रश्न गर्ने साहस समाप्त भैसकेको हुनुपर्छ। र, यही सन्दर्भ अरु समकालीन पूर्वप्रधानमन्त्रीको हकमा पनि हुबहु लागू हुन्छ।
त्योभन्दा पनि विशेषगरी अघिल्लो निर्वाचनदेखि यहाँसम्मको राजनीतिको साङ्गोपाङ्गो अध्ययनपछिको जवाफ यो अभियानले रोजेका शब्दहरू जति सम्मानित होलान् भन्नेमा मेरो शंका छ।कुनै पनि नागरिकले कोभिड-१९ को कहर बढ्दै गर्दा आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका हाछ्यु, बेसार र हिमाली हावाका भाषणहरू कसरी बिर्सेलान् ? काठमाडौं छोड्न बिहान झिसमिसै पैदल नै सहर छोड्दै गरेका मानिसहरूका खुट्टा अहिले दुख्न छोडे भन्दैमा त्यो भुल्नुपर्ने होला र ?
खान नपाएर सडकमा नै नागरिकहरूले मृत्युवरण गरेकै समयमा यती, ओम्नीहरूले भरमार खाइरहेका समाचार कसैले बिर्सियो होला र ? सत्ताले जबरजस्ती सेलाइदिएको ७० करोडका काण्ड कसरी आम नागरिकको स्मरणबाट हराएको होला ? वाइड बडी र बालुवाटारका किस्सा जोकोहीले कसरी विस्मरण गर्न सक्ला ?स्थायी सरकारका लागि दिएको मतलाई कसरी अपमान गरियो भन्ने विषयमा त ओली लगायत दाहाल, नेपाल, खनाल लगायतको पनि उत्तिकै भूमिका छ। पशुपतिनाथको जलहरीमा हराएको ११ किलो सुन होस् वा कोरोना नियन्त्रणमा बेरुजुमा गएको ६० अर्ब होस्, यी हरेक कुराले अघिल्लो सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीहरू अक्षम, गैरजिम्मेवार, अपारदर्शी र भ्रष्ट नै देखाउँछ।


