
कास्की। देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन ’ आजदेखि पोखरामा सुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगञ्ज महानगर प्रमुख राजेशमा सिंह बिहीबार साँझनै पोखरा आइपुग्नुभएको छ । अन्य महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत आज बिहानसम्म आइपुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने प्रमुख आचार्यले बताउनुभयो । महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ । घोषणापत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ ।”


