प्रयोगमै नआई भत्काइयो डिजिटल शौचालय

घटना

चार वर्ष अघि नेपालगन्जको मुख्य चोक धम्बोझीमा निर्माण गरिएको डिजिटल शौचालय प्रयोगमै नल्याई भत्काइएको छ। चार वर्षसम्म प्रयोगविहीन अवस्थामा रहेको उक्त शौचालय जीर्ण अवस्थामा थियो।

गुणस्तरहीन सामान प्रयोग गरेकाले उक्त शौचालय प्रयोगमै नआई बिग्रिएको स्थानीयको आरोप छ। प्रयोग नै नभई भत्काइएको डिजिटल शौचालय प्रति नागरिकहरुले चिन्ता व्यक्त गरिरहेका छन्। 

डिजिटल शौचालयमाथिको लगानी बालुवामा पानी जस्तै भएको भ्रष्टाचार न्यूनीकरणसम्बन्धीका अभियन्ता नमस्कार शाहले बताए। कार्यान्वयन हुन नसक्ने हचुवाको योजना बनाउनेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ।

अब उक्त स्थानमा सामान्य शौचालय निर्माण गरिने नेपालगन्ज उपमहानरपालिकाले जनाएको छ। 

‘डिजिटल शौचालय जीर्ण भइसकेको थियो,’ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘जीर्ण शौचालयले ठाउँ मात्र ओगटेको थियो। अब यो भत्काएर सामान्य शौचालय निर्माण गर्छाैं। जसले धेरै नागरिकलाई सहज हुनेछ।’

नेपालगन्जको मुख्य समस्या नै सार्वजनिक शौच हो। उपयुक्त ठाउँमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणहरु समस्यामा छन्।

नेदरल्यान्ड्स विकास कोषको ४६ लाख ३६ हजार रुपैयाँ लगानीमा स्वास्थ्य विकासका लागि नगर सरसफाइ स्वच्छता कार्यक्रमअन्तर्गत २०७६ माघ ३ गते उक्त शौचालय निर्माण गरिएको थियो।

शौच गर्दा स्वचालित संगीत बज्ने यन्त्र जडान गरिएको थियो। साबुन पानी नहुँदा शौच बन्दको संकेत हुन्थ्यो भने साबुन पानी स्वचालित नै बनाइएको थियो।

जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो।

सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपांगता तथा महिलामैत्री उक्त डिजिटल शौचालयमा एकै पटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपांगता) भएका व्यक्तिले शौच गर्न सक्ने गरी बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *