बाराको कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न एक महिलासहित ३ पक्राउ

सबै

बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षक हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।बाल एकता बाेर्डिङ स्कुल कलैयाका संचालक एवम् प्रिन्सपल रुपेश स्वर्णकार (सर्राफ) काे साेमबार दिउसाे १:१५ बजेकाे समयमा कलैया उपमहानगरपालिकाकाे वडा नम्बर ६ मदरशा टाेलस्थित अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे ।

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले सर्राफकै स्कुलकी पूर्व शिक्षिका कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया एक महिला र दुई पुरुषा गरि तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।हत्यामा संलग्न रहेकाे आशंकामा साेमबार बेलुकीसम्म एक महिलासहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्याैपानेले बताए ।

प्रहरी स्राेतका अनुसार सर्राफ हत्याको योजना बनाएको आशंकामा सुरुमा उनकै स्कुलका पूर्व शिक्षिकालाई पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे । त्यसपछि थप दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेकाे हाे ।कलैया उपमहानगरपालिका–६ का ४० वर्षीय मृतक सर्राफका १ नाबालिक छोरा, १ छोरी र श्रीमती छन् ।‘घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । उनले भने “सीसीटीभीको सहाराले अनुसन्धानमा सहयोग मिल्यो । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ । भाेली मंगलबार सम्म सबै कुरा खुल्छ ।” कलैयाको मुख्य बजारको कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

नेपाल राष्ट्रिय मावि र हजारी ‘मार्केट’ को बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमै सर्राफमाथि गोली हानेको प्रत्यक्षदर्शीको भनाइ छ । छाती र टाउकोमा चार वटा गोली लागेका उनलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकी वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना गरिएको केहीबेरमै बयोधा अस्पतालमा उनलाई मृत घाेषणा गरेकाे थियाे ।सोमबार साँझ घटनाको विरोधमा कलैयाको भरत चोकमा प्रदर्शन समेत गरिएको थियाे । सुरक्षा अवस्था कमजोर भएको र दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, कलैयासहित जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउनुपर्ने भन्दै प्रदर्शन भएको हो । कलैयामा बिग्रिएका सीसीटीभी तत्काल बनाउन पनि प्रदर्शनमा उत्रिएका स्थानियहरुले माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *