
काठमाडौं । काठमाडौं महानगरले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ । काठमाडौं महानगरभित्र निर्माण गरिएको अवैध संरचना हटाउने काममा मेयर बालेन शाहलाई निरन्तर सहयोग मिलिरहेको छ ।
जनस्तरदेखि लिएर संसदमा पनि बालेनको पक्षमा आवाज उठाउन थालिएको छ । बालेनले ऐतिहासिक हिम्मत देखाएको भन्दै उनको वाहीवाही हुन थालेको छ । देश दुनियाबाट बालेनको कदममा साथ मिलिरहेका बेला महानगरपालिकाको अनधिृकत संरचना भत्काउने अभियानप्रति उपमेयर सुनिता डंगोल भने असन्तुष्ट बनेकी छन् ।
पार्किङका लागि भनेर नक्सा पास गरिएका तर, व्यापारिक प्रयोजनमा ल्याइएका नक्सा पास नै नगरी मापदण्डविपरीत बनाइएका घरटहरा भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ । उक्त अभियानको नेतृत्व स्वयं बालेन्द्र साह (बालेन) ले गरिरहेका छन् ।
अधिकांश सार्वजनिक कार्यक्रम र महानगरको अरु गतिविधिमा मेयरकै अगाडि उभिएको देखिने सुनतिा अवैध संरचना भत्काउने अभियानमा भने कतै पनि बालेनसँग देखिएकी छैनन् ।
श्रोतका अनुसार उनले मेयर साहसँग जबर्जस्ती गर्न नहुने भन्दै उक्त अभियानप्रति आपत्ति जनाएकी छन् । सुनिताको दल एमालेका नेताहरुले पनि बालेनको अभियानको विरोध गरेका छन् ।
सांसदसमेत रहेका एमाले नेता महेश बस्नेतले त यस्तै गतिविधि जारी राखे बालेनविरुद्ध प्रतिकारमै उत्रनेसम्मको चेतावनी दिएका छन् । विगतमा आफूले धेरैलाई तह चलाएको भन्दै उनले २÷४ सय ट्यापे र फेसबुकेको आडमा चुरीफुरी नगर्न बालेनलाई चेतावनी दिए ।
उनले बालेन समर्थक ट्यापे र फेसबुकेहरुलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व आफूले गर्ने घाषणा नै गरेका छन् । बालेनले बिहीबार काठमाण्डुको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले वृत्त बढी नै आक्रोशित भएको छ ।
बस्नेतले आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डोजर चलाइएको भए बालेनको सन्की र लहडी आतंक बन्द गर्ने चेतावनी फेसबुकमार्फत सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमा लखेटाएमा परेका छन् । अवैध संरचना भत्काउने क्रममा अल्फाबिटा सञ्चालक र बालेन्द्रबीच भनाभनसमेत भएको थियो ।
अल्फा सञ्चालक आफ्नो दलनिकट भएकै कारण उनीमाथि तारो बनाइएको बुझाइ एमाले नेताहरुको छ । उपमेयर डंगोल पार्टीकै निर्देशनमा अभियानमा सहभागी नभएको मेयर बालेन्द्रका एक सहयोगीले बताए ।
‘महानगरका सबै काम र सामाजिक काममा समेत मेयर र उपमेयर कहिल्यै छुटेको देखिँदैन’, उनले भने, ‘एमालेको निर्देशनमा उहाँ अवैध संरचना हटाउने अभियानको विरोधमा हुनुहुन्छ, कतै पनि जानुभएको छैन ।’


