
काठमाडौँ- थापाथलीस्थित नर्भिक अस्पतालले काठमाडौँ महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसक्ने स्पष्टीकरण दिएको छ।अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन्।२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भई उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको कारण २४ घण्टाभित्र खाली गर्न नसकिने सिंहले बताए।
यसअघि काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो।आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।नर्भिक अस्पतालले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाका मेयर बालेन साहले सोमबार निर्देशन दिएका थिए।सो निर्देशन तत्काल पालना गर्न नसक्ने अस्पतालले जनाएको छ।


