
दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।
उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।


