
मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा बेथिति नै बेथिति भएको देखिएको छ ।
मधेस प्रदेशका सभामुख र उपसभामुखले आर्थिक वर्ष २०७७÷७८ सम्म निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशसभाको आर्थिक तथ्यांकअनुसार प्रदेशसभा सचिवालयले मधेस प्रदेशका सभामुख सरोज यादवको निर्णय अनुसार निजी सचिवालयमा कार्यरत १८ जना कर्मचारीको तलब, भत्ता सभामुख यादव र उपसभामुख उपमाकुमारी देवको बैंक खातामा पठाउने गरिएको सार्वजनिक भएको छ ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुखले आफ्नो निजी सचिवालयमा १० जनासम्म कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, उपसभामुखले ८ जना कर्मचारी राख्न पाउने व्यवस्था प्रदेशसभाबाट नै भएको छ ।
महालेखाको प्रतिवेदन अनुसार सभामुखले १० जना कर्मचारीको पारिश्रमिक बापत वार्षिक २४ लाख २९ हजार र उपसभामुखले ८ जना कर्मचारीको पारिश्रमिकबापत १६ लाख ४६ हजार रुपैयाँ आफ्नो निजी बैंक खातामा रकम बुझेका छन् ।


