मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन्।शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गर्दै नेकपा (एमाले)समेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन्। शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘मैले टेलिभिजनमा काम गरेको लोकप्रियताको फाइदा उठाउनको लागि चुनावी मैदानमा तपाईँसँग भोट माग्न आएको हैन। प्रतिबद्ध भएर भोट माग्न आएको छु प्रतिबद्ध साथीहरूको टिम बनाएर भोट माग्न आएको छु। टेलिभिजनमा के गरे कति गरे? म त्यसको ब्याज खान्न। अहिलेका नेताहरूले जस्तो यती वर्ष जेल बसे भने जस्तै मैले टिभीमा यती वर्ष काम गरे भन्दिन। अब मलाई राजनैतिक कसीबाट जाँच्नु होला। राजनैतिक मन्चबाट नै हेर्नु होला। यदि मेरा प्रतिवद्दताहरु र म संलग्न पार्टीको उम्मेदवारहरू ठिक लागेको खण्डमा मात्रै तपाईंहरूले भोट गर्नुहोला।’

लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’

विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरु जाग्नुपर्ने बताए। यस्तै उनले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने समेत दाबी गरेका छन्। उनले देशभर स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *