प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् । अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।

उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठनका प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ । कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । उनीहरुबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाउने गरिएको छ ।
नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने/नहुने अझै थाहा हुन सकेको छैन । यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् ।