यो सालको भाई टिका मेरो विशेष रह्यो: डा. तोसीमा कार्की

नेपाल

बुवाको फोन धेरै पटक काटिएपछि, उहाँलाई एउटा पत्र यहिँ फेसबुकमा लेखेर, आफूले अपरेसन(छातीको दुबै साईडमा पाईप चेस्ट ट्युब हालेको) गरी भर्ना राखेको आमालाई हेर्न अस्पताल गए ।आमा यस दिन निकै खुसी देखिनुभएको थियो,… राउण्ड लिँदा उहाँकी छोरीले भन्नुभयो “आमाले बिहानै देखि मलाई बचाउने डाक्टर्नी काहाँ गया हु्न्, कैले आउन्या हुन् भन्दै खोज्नुभया, यो घरबाट आएको केरा तपाइलाई दिनु भनेर हामीलाई पनि नदिई राख्नु भया छ” छोरीले यसो भन्दै गर्दा ति ६५ वर्षीया आमाले निकै मिठो (माथील्लो दाँत झरिसकेको) मुस्कान दिनुभयो, मृत्युको मुखैमा पुग्नुभएको आमाले मलाई “तपाईले आमा बुवा बिर्साउनुभो मलाई बचाउनुभो” भनि मुस्कान दिदाँ तिहारमा आमा बुबा भाईलाई सम्झिरहेको मेरो मनले पनि एकछिन त बुवा ममी नै बिर्सियो …| 

त्यसपछी म रुकुमको आठबिसकोट जाने तरखरमा थिए| एकजना अँधबैँसे उमेरका जाजरकोटे दाजु हातमा सयपत्री माला र टिका बोकेर आईपुग्नुभयो| आँखा भरी आँसु पार्दै “म मल्लक सिङ, शिक्षक हुँ, आज गाडिहरु चल्दैन,म कुसे देखि हिँड्दै आएको,आज घर नजाँदा ,खल्लो लाग्यो होला, यो दाईले माला टिका सेल लिएर आएको छु” भन्नुभयो| हैन दाजु म आज टिका लाउँदिन, यसपटक शोकाकुल परिवारहरुलाई साथ दिएको हुँ भनि टिका माला हातमा लिएँ| “यो रोटी मेरो घरको हो,म हजुरकै अगाडी आफूले चाखेर तपाईलाई दिन्छु है” भन्नुभयो| सांसद मान्छे, सुरक्षाको कुरा आउला भन्ने डरले होला, उहाँले त्यसो भन्नुभयो| मैले “हैन पर्दैन,जनताले माया गरी दिनुभएको त म विष पनि खाईदिन्छु” भनि हाँस्दै सेल खाईदिए| मिठो मुस्कान र आँखमा टिलपिलीएको आँसु झार्दै “बहिनीलाई समग्र जाजरकोटेहरुबाट धन्यवाद छ” भनि जानुभयो| यो पल मेरो पनि आँखा रसायो, बोली अड्किए जस्तो भयो…| 

त्यसपछी रबिन केसी भाईको बाईकमा हामी जाजरकोट खलङ्गाबाट आठबिसकोट तिर लाग्यौँ| रिम्ना कटेपछीको कच्ची बाटो निकै अफ्ठेरो, पहिरोले ठाउँ ठाउँमा जोखिमपूर्ण भएको रहेछ, घेत्मा स्वास्थ्यचौकी भन्दा अलि माथीबाट बोलेरो पनि नगएर बाटोमै रहेछ। हामी बाईकमा जसोतसो ३-४ पटक लड्दै उठ्दै गयौँ, धन्न चोट चाहिँ लागेन। आठबिसकोटमा सुनील भाइको घरमा टीका लाउन आउनुभएका बृद्द बा आमाहरुको माझमा बसेर उहाँहरुको गफ सुन्दै दहि सँग भात खाएँ। आमाहरुको स्वास्थ्य परिक्षण गर्यौँ त्यसपछी पवन देवकोटा, ईन्जिनियर मान बाहदुर शाही, रतन भाईहरु अस्थाई टहरा निर्माणमा लाग्नुभयो, म र रबिन भाई चाहिँ औषधि मलम पट्टि बोकेर घर घर हिँड्न थाल्यौँ।

आठबिसकोट १४, ज्यामिरकोट, एकै सानो गाउँको १०वटा घरमा गरी २७ जनाको मृत्यु भएको, धेरै घरहरु पुरै भगनावशेष भएका, अनि ठडिएका जति कुनै पनि बेला ढल्न सक्ने अवस्थाका, हेर्दै कहाली लाग्दो त्यो दृश्य, हिँड्दा हिँड्दै एकै घरको ५ जना मृत्यु भएको घरमा पुग्यौँ, बाँच्नुभएको छोरा, नाती, अनि बुढी हजुरआमा हुनुहुँदो रहेछ| उहाँको ढाडमा ठूलै चोट लागेकोले बस्न उठ्न गार्हो भन्ने थाहा पाएपछि हामी उहाँलाई भेट्न निकै अग्लो ठाउँमा, त्यहाँबाट थप ३० मिनेट हिँडेर डाँडामा रहेको उहाँको भाईको घरमा पुग्यौँ| आमाको ढाडको हड्डी भाँचिएको हुन सक्ने यद्दपि मेरुदण्डको स्नायूमा भने चोट नभएको लक्षण देखी हामीले आमालाई अस्पताल लगि एक्स्रे गर्ने र तत्कालको लागी आराम तथा केहि औषधी दियौँ| आमाले आफ्नै आँखा अगाडी आफैँसँग सुतेका नातीनी र छोरीहरुको मृत्यु देख्नुभएको र आफूले निहुरिएर ढाडले छेक्न खोजेको कथा सुनाउदै म पापीनी चाहिँ किन बाँचे भन्दै रुनुभयो| आमालाई सम्झायौँ, अनि उहाँले मलाई जुनीभरीलाई पुग्ने आशिर्वाद र झोलाभरी बारीको सुन्तला दिएर बिदा गर्नुभयो|  

त्यसपछी ओरालो झेरेर हामी त्यहि गाउँमा त्रिपालमुनी बसिरहको बस्ती पुग्यौँ जहाँ ५ जना घाईतेहरुको उपचार गर्यौँ| सुरुमा एक जना दिदी जँचाउन आउन हिचकिच्याउनुभयो, जेठाजु बसीरहनुभएको त्रिपालमा आउन नमिल्ने रहेछ, मैले भने, “मान्छेको जिवन अहिले छ, एक छिनमा छैन, कुन बेला धुलो हुन्छ टुङ्गो छैन, दैवको कृपाले बाँचिएको जुनी, सबै मिलेर बसौँ न” त्यसपछि अफ्ठ्यारो मान्दै, दिदी मेरो नजिक आउनुभयो र मैले उहाँलाई अफ्ठ्यारो नहुने गरी जाँच गरे| यतिबेला मेरो मन झसङ्ग भयो “ओहो, एक घर धुरीलाई एक त्रिपाल बाँडिएको छ, एकै परिवारमा पनि जेठाजु, बुहारी, शासु,शशुरा, भाउजु, देवर हुन्छन्, कति बुहारीहरुले चिसो भुँईमै सुत्नुपरेको होला ! झन् गर्भवति र सुत्केरी महिलाहरुको बेहाल भएको होला! ऊफ !!”

त्यहाँको उपचार सकेर तल्लो घरको दाईको घुँडा र कुमको चोटमा मलमपट्टी गरी फर्किदै थियौँ| बाटोमा एक जना दाजु आफ्नो पिठ्युँमा छोरालाई बोकेर त्यहाँबाट ४५ मिनेट पर रहेको मेडिकलतर्फ जाँदै हुनुहुँदो रहेछ| “दाई के भयो, कता हिँड्नुभयो” “ओहो माननीय ज्यु, नमस्कार, हेर्नुन मेरो बाबुलाई हिजो देखि हनहनी ज्वरो आयो, हेरिदिनुस् न” त्यहाँ नजिकै भत्किएको घरको आँगनमा पछ्यौरी ओछ्याई बाबुलाई भुँईमै सुताएर जाँच्यौँ, छाती पेट सबै हेरेपछी केहि औषधी दियौँ, बाबुलाई चिसोले रुघा मर्की सुरु भएको रहेछ| “दुई दिनसम्म नि कम भएन भने चाहिँ अस्पताल जानु है” भने| ४५ मिनेट लामो बाटो हिँड्नु नपर्ने भो भनि ति दाजु खुसी हुँदै छोरो र औषधी बोकी घर फर्किए| रबिन भाई र म पनि अस्थाई टहरा निर्माण भईरहेको स्थलमा पुँग्यौँ, त्यहाँ केहि हात बटायौँ र मृतकका परिवारहरुसँग बिदा मागी नलगाढ तर्फ लाग्यौँ| 

झमक्क साँझ परिसकेको र सिरेटो सुरुभएको बाईकमा हिँडेका हामीलाई अझ बढी महसुस भईरहेको थियो| नलगाढ २ चोकमा मित्र महेशलाई भेटी स्थानीयसँग छोटो संवाद पछि, नलगाढ ३ दल्लीको मृतक परिवारको घरमा पुग्यौँ जहाँ श्रीमान गुमाएकी एक बहिनी काखमा नानी च्यापेर बसिरहकी थिईन्| एकै टेन्टमा बस्नुभएका ४-५वटा घरका महिलाहरु मिलेर आगो फुक्दै तरकारी पकाउँदै गरेको दृश्यतर्फ छोरो गुमाएका, गलबन्धीले आफ्नो कान मुख छोपेका एक बुवा टोलाईरहेका थिए| म पुग्नासाथ न्यानो माया कोशेली बोकेर वर पर छर छिमेकका महिला दिदी बहिनीहरु अँध्यारोमा मोबाईल बाल्दै सबै आईपुग्नुभयो, पाक्दै गरेको तरकारी समेत झिकेर चिया बनाउनुभएछ| म चिया पिउन लाग्दै थिएँ हामी मध्ये एक साथीले “यो कप त फुटेको छ, म यसमा खाँदिन” भनेर फिर्ता दिनुभयो| फिर्ता गरिएको फुटेको कप चिया बाँड्ने प्यारी दिदीको हातमा नपुग्दै बिचमै मैले लिएर भने “यहाँ मानिसहरुको घर फुटेको छ, जिवन फुटेको छ, सिउँदो फुटेको छ, तपाई कप फुटेको पर्यो भन्ने गुनासोमा हुनुहुन्छ” यति भन्न नपाउँदै ति साथीले हत्तपत्त त्यहि कप लिएर “हो त है,आज मैले पनि केहि सिके” भनेर चिया पिउन थाले| म नजिकै वरिपरी बस्नुभएका दिदी बहिनी आमाहरु सबै हाँस्नुभयो | मेरो मनले फेरी भन्यो “भुकम्पले घर घरमा भाँडा कुँडा सर सामान सबै फुटाएको छ,जुन देशमा युवाको भविष्यनै चर्किएको छ,चर्किएको भाँडोमा खान्न भनेर काहाँ हुन्छ र?” 

“माननीय ज्युलाई खाना पस्किम्” सुनेर, म झसकिए फेरी! “हैन हैन, पर्दैन हजरहरु खानुस् न, म खलङ्गा गएर खाईहाल्छु नि”| अघिसम्म एकोहोरो टोलाईरहेकी सिउँदो पुछिएकी बहिनीले समेत आफूले काखमा च्यापिरहेकी नानीलाई मोबाईल खेल्न दिएर मलाई “खाना खाम न है, आज यतै बस्नुस् न है” भन्नुभएपछि चाहिँ, म अनकनाए पनि नाँई भन्न सकिन| आगोमा पकाईएको भात, साग, अनि दूध| “मिठो नमिठो जे जसो भएनि हामी दुखीको घरमा आएर मिठो मानी खाईदिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद” तिनै एक्लि भएकी बहिनीले मुस्कान सहित भनिन्| घर अगाडि निलो त्रिपाल थियो त्यहि चर्किएको घरमा टेका लगाईएको| कुन बेला ढल्ला जस्तो| चिसो भुँईमा बसेर राहतमा आएको जसो तसो मिठो मसिनो पकाउँदै गर्नुभएका तमाम ति आमा बुवा दाजु भाई दिदी बहिनीहरुले “म ललितपुरबाट निर्वाचित एक प्रतिनिधी सभा सदस्य” त्यहाँ पुग्दा मैले उहाँहरुलाई केहि दिन नसकेपनि, म सँग गफ गरेर, सँगै बसेर, फोटो खिचेर, उल्टै मेरो पोल्टो भरी माया, मेरो टाउको भरी आशिर्वाद र मेरो पेटभरी उहाँहरुको भागको खाना समेत दिएर पठाउनुभयो ……|

रबिन भाईको बाईक स्टार्ट भयो| अँध्यारोमा कच्ची बाटोमा बाईक कुदाउदै रबिन भाईले “दिदी आज यस्तो त्यस्तो… के के भन्दै थियो… खई सुनिन… मेरो मनले चाहिँ आफूलाई अर्कै केहि सोधिरह्यो “आखिर जनताले नेतासँग के नै खोजेका रहेछन् र ? नेताले खाने भात, लाउने लुगा, बस्ने बास, जित्ने भोट, पाउने पद सबै त जनताले नै दिएका हुन्| अनि नेताहरु किन र के का लागि कुन हैसियतले यति दम्भ बोकेका होलान् ? वास्तवमा मालिक त जनता हुन्, नेताहरु सबै सेवक बन्न सक्नुपर्छ|”  

#jajarkot  #Rukum

Leave a Reply

Your email address will not be published. Required fields are marked *