
काठमाडाैँ- नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरीमन्त्री रामकुमारी झाँक्रीले आफू सहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छिन्।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन्।
उनले आफ्नो कार्यकालमा सहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताइन्।झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेखगरिन्।
उनले भनिन्, ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो। उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौँ भनेर त्यो काम हामीले रोक्यौँ। त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्याे। त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजानको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौँ। आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता,आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ। अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ। धेरै विकास निर्माणको काम गर्न रहेका धेरै हड्लसहरूलाई किनारा गरेका थियौँ। अनियमिता रोक्ने प्रयास गरेँ, यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु। दुई दर्जन प्रतिवेदन नै छन्। प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरूकै प्रतिवेदन आएका छन्। त्यसरी नै विकास नीतिहरूलाई परिर्वतन गर्न धेरै काम गरेका थियौँ।’
पू्वमन्त्री झाँक्रीले आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरू सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको पनि बताइन्।


