
री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले कलैया–१३ निवासी आदित्य मेहतालाई RAT (Rapid Action Team) जिल्ला संयोजक मा मनोनित गरेको छ। जिल्ला अध्यक्ष चन्दन कुमार स्वर्णकारले हस्ताक्षरित पत्रमार्फत मेहतालाई जिम्मेवारी औपचारिक रूपमा प्रदान गरिएको हो।
पत्रमा पार्टीको विधि, नीति, सिद्धान्त, कार्यदिशा र नियमअनुसार दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ। साथै छिट्टै RAT जिल्ला भेला आयोजना गर्न तथा जानकारी जिल्ला समितिमा पठाउन पनि निर्देशन गरिएको छ।
⸻
को हुन् आदित्य मेहता?
कलैया उपमहानगरपालिका–१३, बलिरामपुरका स्थायी निवासी आदित्य मेहता हाल स्नातक तहमा अध्ययनरत युवा विद्यार्थी हुन्।
भाद्र २३ गते भएको जेनजीको शान्तिपूर्ण विरोध प्रदर्शनमा कलैयामा नेतृत्वकर्ता बनेर ब्यानरसहित जम्मा ४ जनाको टोलीमा सहभागी भएका प्रमुख युवामध्ये एक उनी नै थिए। तर भाद्र २४ गते आन्दोलन उग्र रूप लिँदा भने उनी बिहानदेखि नै प्रदर्शनमा सहभागी भएनन्।
त्यसअघि नै उनले २४ गतेको आन्दोलन शान्तिपूर्ण राख्न, आगजनी–लुटपाट–तोडफोड नगर्न आग्रह गर्दै स्वतन्त्र रूपमा सार्वजनिक विज्ञप्ति पनि जारी गरेका थिए—जसलाई स्थानीय युवाले सकारात्मक रूपमा लिएका थिए।
२०७९ भाद्र २९ गते रबि लामिछानेको उपस्थितिमा कलैया भरतचौकमा सम्पन्न भएको रास्वपाको ऐतिहासिक पहिलो जिल्ला भेलाबाटै आदित्य मेहता रास्वपा बारा सँग सम्बद्ध हुँदै आएका छन्।
यतिबेला उनी स्थानीय युवामाझ लोकप्रिय तथा सक्रिय अनुहारका रूपमा चर्चित छन्।
⸻
रास्वपामाभित्र युवा नेतृत्वको उदय
रास्वपाले बारा जिल्लामा युवाहरूलाई अगाडि ल्याउने नीति अनुसार सक्रिय, शान्तिपूर्ण, जिम्मेवार र दूरदर्शी युवाको रूपमा स्थापित आदित्य मेहतालाई संयोजक चयन गरिएको बताइएको छ।
उनको नेतृत्वमा RAT बारा अझ बलियो रूपमा क्रियाशील हुने अपेक्षा गरिएको छ।


