
एकताका कोभिड— १९ को कहरले विश्व त्राहिमाम थियो। अहिले भने नेपालको राजधानी काठमाडौंसहित थुप्रै सहर र जिल्लाहरूमा अर्काे संक्रमणले त्राहित्राहि बनाएको छ। त्यो हो डेंगु। राजधानी काठमाडौं त डेंगु संक्रमणको पनि राजधानी नै बनिरहेको छ। जहाँ दिनहुँ झन्डै सय बिरामी डेंगुका भेटिएका छन्। झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, बुटवल र जाजरकोटमा डेंगुका संक्रमित भेटिएका छन्। अझ थुप्रै जिल्लामा यो संक्रमण परीक्षणको कीट नै छैन। त्यसैले भए जति संक्रमित पहिचान हुन सकेका छैनन्। कतिपय ठाउँमा परीक्षण कीट कमसल हुनाले रोग पहिचान भएको छैन।
धेरै भएको छैन नेपालीले यो रोगको संक्रमण बेहोर्नुपरेको। केही वर्षयता यो रोगको बर्सेनि संक्रमण देखिन थालेको छ। यो लामखुट्टेले टोकेर हुने संक्रामक रोग हो। लामखुट्टे देखा पर्ने भनेकै बर्खायाम हो। त्यसैले बर्खायाममा यसको संक्रमण हुन्छ। एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले मात्रै यसको संक्रमण गराउँछ, जसले राति होइन दिउँसोमात्रै मानिसलाई टोक्छ। साह्रै धेरै टाउको दुख्ने, हनहन्ती ज्वरो आउने, सासफेर्न गाह्रो हुने, रक्तस्राव हुने, शरीर गल्ने, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता यो संक्रामक रोगको लक्षण हो। डरलाग्दो कुरा के भने संक्रामक हुनुका कारण यो एकबाट अर्काे व्यक्तिमा सर्छ। भय त्यसैको हो कि अहिले जुन रूपमा बिरामी देखिएका छन्, कतै यसले महामारीकै रूप लिने त होइन ? हो, त्यही विपत्ति आउला कि भनेर सचेत हुनुपर्नेछ।
डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। डेंगु फैलाउने लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। सचेत हुनुपर्ने सर्वसाधारण नागरिक हो। सरकारको काम सचेतना फैलाउने, परीक्षणको दायरा फैलाउने र उपचारको प्रबन्ध मिलाउने हो। तर नागरिक सजग भइदिने हो भने संक्रमण फैलन पाउँदैन। आफूलाई नभएसम्म हेलचेक्र्याइँ गर्ने बानी धेरैजनासँग हुन्छ। त्यही कारणले नै यस्ता संक्रामक रोगहरू फैलने हुन्। तसर्थ सर्वसाधारण सबैले पहिला आफू संक्रमित नहुने र अरूलाई पनि संक्रमण नहोस् भन्नेतिर ध्यान पुर्याएर व्यवहार गर्न जरुरी छ। जस्तो कि लामखुट्टेको बासस्थान पहिचान गरी संक्रमण फैलाउने त्यो जीवलाई आफ्नो वरिपरि नै हुन नदिन सकिन्छ।

जमेको खाल्डाखुल्डी, गमलाको पानी, टायरमा जमेको पानी जहाँ कहीँ पनि लामखुट्टेले आफ्नो बासस्थान बनाउँछ। आफू वरिपरि त्यसरी पानी जम्न नदिनु बुद्धिमत्ता हुन्छ। कोठामा लामखुट्टे छिर्न दिनु हुँदैन, झ्यालढोलामा राम्ररी जाली लगाउनुपर्छ। त्यसमाथि पनि झुल लगाएर सुत्नु राम्रो हुन्छ। होइन भने डेंगुकै कारण ज्यान पनि जान सक्छ। ज्वरो आउनेलगायत जुन लक्षण देखिएपछि सबैभन्दा पहिला त अस्पताल पुगेर उपचार गराउनुपर्छ। धेरैजसो नेपाली भने सिकिस्त नभई अस्पताल जाने गर्दैनन्। त्यो भनेको आफ्नै ज्यानलाई जोखिममा पार्नु हो। अर्काेतिर घरमै बस्दा पनि तातो र झोलिला चिजहरू खानुपर्ने चिकित्सकहरूको सल्लाह छ।
व्यक्तिव्यक्ति र आफ्नो बासस्थानतिर लामखुट्टेको बासस्थान नष्ट गर्न आफैं तदारुकता देखाउने र सरकारी निकायले सार्वजनिक ठाउँहरूमा डेंगु सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने उपाय अपनाउनुपर्छ। विभिन्न औषधि छर्कने र ठाउँकुठाउँ जमेको पानी फाल्ने र जम्न नदिने गर्नुपर्छ। सरकारी निकाय तात्यो र सचेतना फैलाउँदै लामखुट्टेका बासस्थान नष्ट गर्नपट्टि लाग्यो भने नागरिकस्तरमा स्वतः जागरण पैदा हुन्छ। जो जहाँ छौं, आआफ्नो ठाउँबाट डेंगु नियन्त्रणमा योगदान गरी यसको संक्रमणको जोखिम घटाऔं।


