
स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोले पुरिएर तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–६ माझकोटकी ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा रहेका छन्।
मृतकहरूको माझकोटको घर जोखिममा रहेको ठानेर लामाखेतस्थित ईश्वरी लम्सालको घरमा सारिएको थियो। सोही ठाउँमा पनि दिउँसो अकस्मात पहिरो आउँदा उनीहरू पुरिएका। सोही पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उता पर्वतमाको फलेबास नगरपालिका–१ कार्कीनेटा टिमुरबोटमा पहिरोले घरगोठ बगाउँदा दुईजनाको मृत्यु भएको छ।
दिउँसो आएको पहिरोले कुलबहादुर उपाध्यायको घर बगाउँदा फलेबास–१ कै ४० वर्षिय झलकप्रसाद शर्मा पौडेल र आँधीखोला गाउँपालिका–३ घोरढुंगाका ३३ वर्षिय तुलसीप्रसाद शर्मा वेपत्ता भएका थिए। पछि खोजी गर्दा झलकप्रसादको शव आँधीखोला–४ सेपथमा र तुलसीरामको शव नजिकै पहिरोमा भेटिएको प्रहरीले जनाएको छ।
त्यसैगरी उक्त पहिरोले दुईवटा भैंसी, एउटा गोरु र चारवटा बाख्रा समेत बेपत्ता पारेको जनाइएको छ।
यस्तै काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर गोरखाको लखन थपा गाउँपालिका–६ का मनोज विकको ज्यान गएको छ।
उनी नागार्जुनमा ट्रपिकल रेस्टुरेन्टमा काम गर्दैआएका थिए। रेस्टुरेन्टको भान्साघर पहिरोले पुर्दा उनी घाइते भएका थिए। त्यसपछि उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्याइएको थियो। जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।
यस्तै दाङको राजपुर गाउँपालिका– ५ सालभौडीस्थित गंगदी खोलामा बाढीले ट्याक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको छ। पहिले बाढीले ट्याक्टर डुबाएको थियो। बाढी कम भएपछि ट्याक्टर निकाल्ने क्रममा चौधरीको शव ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको छ।
यसैगरी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाले ज्यान गुमाएका छन्।
साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगरले ज्यान गुमाएका हुन्।