लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक

खेलकुद

लिभरपुल — लिभरपुलले शनिबार बर्नमाउथलाई ९–० ले हराएर प्रिमियर लिगमा सबैभन्दा फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ । एनफिल्डमा प्राप्त जित सिजनको चौथो खेलमा आइपुग्दा लिभरपुलले पाएको पहिलो सफलता हो ।

रोबर्टो फिर्मिनो र लुइस डियाजले दुई–दुई गोल गरे भने हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर–आर्नोल्ड, भर्जिल भान डाइक, फाबियो कार्भाल्होले एक–एक गोल गरे । बर्नमाउथका क्रिस मेफामले आफ्नै पोस्टमा एक गोल गर्न पुगे ।लिभरपुलको जितले म्यानचेस्टर युनाइटेडको सन् १९९५ को कीर्तिमान बराबरी गरेको हो ।

त्यतिबेला युनाइटेडले इप्सविचलाई ९–० ले हराएको थियो । युनाइटेडले गत वर्ष उही अन्तरमा साउथह्याम्पटनलाई पनि हराएको थियो । साउथह्याम्पटनमाथि नै लेस्टर सिटीले २०१९ मा ९–० को जित निकालेको थियो ।अर्को खेलमा म्यानचेस्टर सिटीले २–० ले पछाडि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्‍यो ।

त्यसमा इर्लिङ हालान्डले ह्याट्रिक गरे भने बर्नाडो सिल्भाले एक गोल गरे । सिटीले चारै गोल दोस्रो हाफमा गरेको थियो । सिल्भाले ५३ औं मिनेटमा सिटीको गोलको खाता खोलेपछि हालान्डले ६२, ७० र ८१ औं मिनेटमा बललाई पोस्टको दिशा दिँदै ह्याट्रिक पूरा गरे । हालान्डले प्रिमियर लिगका ४ खेलमा ६ गोल पुर्‍याए । यसअघि जोन स्टोनको आत्मघाती गोल र जोचिम एन्डरसनले २१ औं मिनेटमा गरेको गोलमा प्यालेसले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।त्यस्तै, म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमा साउथह्याम्पटनमाथि १–० को कठिन जित पाएको थियो । सुरुका दुई खेल हारेपछि एरिक टेन हागको टिम अंकतालिकाको पुछारमा थियो । त्यसयता लगातार दोस्रो जित रच्दै उसले खराब सुरुआतबाट लय समातेको हो । उसले अघिल्लो खेलमा लिभरपुलको चुनौती २–१ ले पन्छाएको थियो ।

टेन हागले क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी मगायरलाई फेरि ‘बेन्च’मा राख्दै लिभरपुलविरुद्धकै टिम मैदानमा उतारेका थिए । ओल्ड ट्राफोर्ड छाड्न चाहेका रोनाल्डोलाई अन्तिम २० मिनेट मैदानमा प्रवेश गर्दा ठूलो संख्याले बेवास्ता गरेका थिए । रियल म्याड्रिडबाट आएका ब्राजिली मिडफिल्डर कासेमिरोले सब्स्टिच्युटको रूपमा १० मिनेट बाँकी छँदा मैदानमा प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरे । पहिलो हाफमै १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टरमाथि २–१ को कठिन जित रच्यो । चेल्सीका दुवै गोल रहिम स्टर्लिङले गरे । पास्कल ग्रसले दोस्रो हाफमा गोल गरेपछि ब्राइटनले लिड्सलाई १–० ले हरायो । ब्रेन्टफोर्ड र एभरटनले १–१ को नतिजा निकाल्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *