रेवती पौडेल आफ्ना बुबाले रोपेका सुन्तलाका बोटबीच खेल्दै हुर्किए। उनका बुबा होमनाथले बारी र खेतका कान्लामा सुन्तला रोपेका थिए।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, सिम्लेका होमनाथ भारतीय सेनाका जागिरे थिए। तलब र अवकाशपछिको सुविधा राम्रै थियो। तर उनी जागिरमा सन्तुष्ट भएनन्। भारतीय सेनाभित्र नेपालीमाथि हुने व्यवहार पनि उनलाई राम्रो लागेन। त्यसैले २५ वर्षको उमेरमा जागिर छोडेर घर फर्के।
यो २०२७ सालको कुरा हो।
पाखो र भिरालो भए पनि होमनाथको पर्याप्त जमिन थियो। यसमा व्यावसायिक रूपमा खेती गर्न सके आम्दानी हुन्छ भन्नेमा उनी ढुक्क भए। भौगोलिक अवस्था र हावापानी विचार गरेर उनले सुन्तला खेती रोजे।
बारीमा सुन्तलाका केही बोट थिए। परिवारजनले खान तथा छरछिमेकीलाई र आफन्तलाई बाँड्न पर्याप्त थियो। आम्दानी भने थिएन।
‘बुबाले सुन्तलाको नर्सरी बनाउनुभयो। गाउँलेहरूलाई पनि सुन्तला खेतीमा लाग्न प्रेरित गर्नुभयो,’ छोरा रेवतीले भने, ‘आफ्नो नर्सरीबाट बिरूवा बाँड्नुभयो।’
होमनाथसँगै स्थानीय नीलराज पौडेलले पनि व्यावसायिक रूमा सुन्तला खेती थाले। नर्सरी बनाएर गाउँलेलाई बिरूवा बाँडे। केही वर्षमै सिम्ले गाउँ सुन्तलाका बोटले भरियो। उत्पादन ह्वात्तै बढेपछि व्यापारीहरू गाउँमै पुगे। सुन्तलाले राम्रो मूल्य पाउन थाल्यो।
यसरी होमनाथ र नीलराजको प्रयासले सिम्ले ‘सुन्तला गाउँ’ का रूपमा चिनियो।
नीलराजको अहिले निधन भइसकेको छ। होमनाथ ७८ वर्षका भए। उनी जिल्लाकै नमूना कृषक हुन्।
होमनाथले सुरू गरेको सुन्तला खेती हाल उनका चार छोरा-बुहारीले सम्हालेका छन्।
माइला रेवती र उनकी श्रीमती युगमाया अनि साइँला चिरञ्जीवीले ‘शिवशक्ति मिश्रित कृषक समूह’ नाम राखेर संगठन पनि बनाएका छन्। रेवती संस्थापक अध्यक्ष हुन्। खेतीको रेखदेखमा उनकी श्रीमती युगमाया खट्छिन्।
‘बुबाले ५३ वर्षअघि नै सुन्तलामा भविष्य देखेर खेती सुरू गर्नुभएको थियो। हामीले त्यसैलाई बढाउँदै लगेका हौं,’ रेवतीले भने, ‘व्यावसायिक विकास हुन केही वर्ष लाग्यो।’
रेवतीले २०५५ सालमा केही बिरूवा रोपेका थिए। २०५७ सालमा रोजगारीका लागि साउदी अरब गए। दुई वर्ष काम गरेर फर्के।
‘साउदीबाट फर्किँदा सुन्तलाका बोट हुर्किसकेका थिए। त्यसपछि रोजगारीका लागि विदेश जाने सोचाइ नै आएन,’ उनले भने, ‘खेतीमै व्यस्त भएँ।’
उनले गत वर्ष २६३ क्विन्टल सुन्तला फलाए। त्यसबाट २० लाख रूपैयाँ आम्दानी भयो। उनका अनुसार शीतभण्डारमा भण्डारण गर्न नजान्दा करिब ६ लाख रूपैयाँको सुन्तला नष्ट भयो। गत वर्ष नै उनले सुन्तला, कागती र जुनारका गरी २३ हजार बिरूवा बेचे। त्यसबाट साढे ६ लाख रूपैयाँ आम्दानी भयो।
‘बिरूवाबाट पनि राम्रो आम्दानी हुन्छ। अन्य जिल्लाबाट पनि किन्न आउँछन्,’ उनले भने।
सुन्तला र नर्सरीबाट वार्षिक २५ लाख रूपैयाँसम्म आम्दानी भइरहेको उनले बताए।
रेवतीका अनुसार चार दाजुभाइले करिब ७० रोपनी जमिनमा सुन्तलाका दुई हजारभन्दा बढी बोट लगाएका छन्। होमनाथले रोपेका बोट चार दाजुभाइले भागबण्डा गरेका हुन्। रेवतीसँग ६ सय बोट, जेठा केशवसँग साढे चार सय, साइँला चिरञ्जीवीसँग साढे पाँच सय र कान्छा नारायणसँग साढे चार सय बोट छन्।
पौडेल परिवार मात्र होइन, सिम्ले गाउँका अधिकांश किसान सुन्तला खेतीमा निर्भर छन्।
अर्का किसान खगेन्द्र पौडेलका अनुसार सिम्लेमा ४७ घरपरिवार सुन्तला खेतीमा आबद्ध छन्। कसैले पनि खेतबारीमा अन्नबाली लगाएका छैनन्। पहिले अन्नबाली हुने खेतबारी अहिले सुन्तलाको बगानले ढाकिएका छन्।
‘सिम्ले सुन्तला गाउँ भनेर चिनिन्छ। यहाँका सबै परिवार सुन्तला बेचेर अन्न किन्छन्,’ उनले भने।
गाउँका युवाहरू सुन्तला खेतीमा लागेपछि गाउँपालिका र प्रदेश सरकारबाट ‘सुन्तला ब्लक कार्यक्रम’ कार्यान्वयन भएको छ। यसमा ‘बागबानी विकास कार्यक्रम’ मार्फत मल र विरुवामा अनुदान प्राप्त हुन्छ। शीतभण्डारमा पनि केही सहयोग प्राप्त हुन्छ।
सिम्लेका किसानले तीन जातका सुन्तला लगाएका छन्। धेरै जसो स्थानीय सुन्तला नै लगाएका छन्। यससँगै जापानी उन्सु र भारतीय किन्नो जातको पनि लगाएका छन्।
उन्सु र किन्नो जातको सुन्तला भदौमै पाक्छ तर उपभोक्ताको रोजाइमा छैन। चाँडै पाक्ने भएकाले बिक्री हुन्छ। रेवतीका अनुसार सिम्लेको भौगोलिक अवस्थिति र हावापानी सुन्तला खेतीका लागि लागि उपयुक्त छ।
