चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिना(साउन, भदौ र असोज)मा अध्ययनका लागि विद्यार्थी विदेशिदा करिब ३३ अर्ब रुपैयाँ बाहिरिएको छ । चालु आवको उक्त अवधिमा विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी बाहिरिंदा उनीहरुसँगै ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको हो। जुन गत वर्षको सोहि अवधिको तुलनामा झण्डै दोब्बर हो ।
गत वर्ष सोहि अवधिभन्दा यस वर्ष १५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष सोहि अवधिमा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो ।
यस्तै, समीक्षा अवधिमा खुद सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई १७ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रुपैयाँ रहेको तथ्यांकले देखाउँछ ।
