विमानस्थलमा भन्सार जाँचपास गरेर कसरी बाहिरिएको थियो साढे ६ किलो सुन 

घटना

काठमाडौं । १४ किलो सुन बरामद भएको दुई दिनपछि नै त्रिभुवन विमानस्थलबाट अर्को साढे ६ किलो सुन भन्सार जाँच पास गरेर बाहिरिएको छ । 

शनिबार दुवईबाट काठमाडौं आएको फ्लाई दुवईको एफजेड ५७३ को उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका इजिप्टका नागरिकले ल्याएको सुन भन्सार जाँच पास गराएर बाहिर ल्याएका हुन् ।

यद्यपी उक्त सुन प्रहरीको विमानस्थल सुरक्षामा खटिएका प्रहरीले बरामद गरेको छ ।  साढे छ किलो सुन ल्याएर बाहिर निस्कदै गर्दा इजिप्टका नागरिक ३२ वर्षीय सेरिफ मोहम्मद ल्यासिनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी पदम विष्टले जानकारी दिए ।

उनले लगाएको कालो ज्याकेटभित्र कालो टेपले बेरेर सुन अर्ध धुलो बनाएर ल्याएका थिए । 

सबै प्रक्रिया पूरा गरेर बाहिरिने क्रममा उनी पक्राउ परेका हुन्,” एसपी विष्टले भने, “पछि शंका लागेर फेरि चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् ।” तर, सुनसहित आएका उनी भन्सार जाँचमा रहेका भन्सारका कर्मचारीलाई छक्याउन भने सफल भएका थिए ।

उनीले भन्सार जाँच पास गर्दा १२ः४५ भएको थियो ।  भन्सारको मेटल डिटेक्टर मेसिनमासमेत उनले बोकेको सुनबारे केही संकेत नदेखिएपछि उनी सरासर बाहिरिएका हुन् । उक्त मेसिनको जाँच पासमासमेत भन्सारकै कर्मचारी खटिएका हुन्छन् ।

त्योबाहेक भन्सारकै कर्मचारीले व्यक्तिको शरीरसमेत खानतलासी गर्ने गर्छन् । तर, भन्सारका कर्मचारीले सबै प्रक्रिया पूरा गर्दासमेत सुन भेटेनन् । प्रहरीले सुनसहित उनलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको छ । 

प्रहरीले सीसीटीभीको आधारमा उनीसँग आएका थप दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *