
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु मा आज नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ ।जारी त्रिकोणात्मक सिरिजमा खराब प्रदर्शन गरेको नामिबिया पहिलो जितको खोजीमा छ । यसअघिका तीनवटै खेल गुमाएको नामिबिया आज स्कटल्यान्डमाथि जित हात पार्दै नेपाल भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ ।
स्कटल्यान्डसँगको पहिलो खेलमा नामिबिया १० विकेटले पराजित भएको थियो । नेपालसँगको दुवै खेल नामिबियाले गुमाएको थियो । स्कटल्यान्ड पुनरागमनको प्रयासमा छ । अघिल्लो खेलमा नेपालसँग स्कटल्यान्ड तीन विकेटले हारेको थियो । उक्त खेलमा उसले तीन मुख्य खेलाडी काइल कोट्जर, जर्ज मोनसे र सरिफ साफियानलाई आराम दिएको थियो ।
बलर क्रिस सोलले भने चोटका कारण आजको खेल गुमाउने छन् । नामिबियाले स्कटल्यान्डसँग अंक गुमाए त्यसको फाइदा नेपाललाई पनि हुनेछ । तेस्रो स्थानमा रहेको नामिबियाको ३३ खेलबाट ३७ अंक छ । लिग टु विजेता बनिसकेको स्कटल्यान्ड ३४ खेलबाट ४८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।


