
वीरगञ्ज – आर्थिक वर्ष ०८१/८२ को बजेटमा वीरगञ्जसित फेरि विभेद गरिएको पाइएको छ। आर्थिक नगरी वीरगञ्जमा रहेका बन्द उद्योगलाई खोल्ने, जीर्ण नारायणी रंगशालालाई मर्मत सम्भार गर्ने कुरालाई अगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेको छैन। मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आवको बजेटमा देशमा रहेका अन्य बन्द उद्योग खोल्न बजेट छुट्ट्याए पनि वीरगञ्जमा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखानालाई सञ्चालन गर्न सरकारले बजेट दिएको छैन।
वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानालाई चलाउने भन्नेबारे आगामी आवको बजेटमा एक शब्दसमेत उल्लेख गरिएको छैन। वीरगञ्ज चिनी कारखना चलाउन सरकारले नै नचाहेकोले बजेट पनि सधँ जस्तो यसपालि पनि नदिएको उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले बताए।
उनले जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानजस्तो वीरगञ्ज चिनी कारखाना भएको बताए। साहले कृषि प्रधान देशमा किसानलाई अघि नबढाए आर्थिक प्रगति हुन नसक्ने थाहा पाउँदा पाउँदै सरकारले विभेदपूर्ण तरिकाले चिनी कारखाना सञ्चालनका लागि बजेट नछुट्ट्याएको बताए।
यस्तै जिर्ण अवस्थामा रहेको वीरगञ्जको नारायणी रँगशालालाई पनि सरकारले बजेटमा प्राथमिकता दिएको छैन।
प्रतिदिन झन् जीर्ण हुँदै गएको रंगशलाको स्तरोन्नतिका लागि सरकारले बजेट छुट्ट्याएको छैन। आगामी आवको बजेटमा काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, बिराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने बजेटमा भनिएको छ।