सहकारीबाट आएको रकम रवि आफैंले झ्वाम पारेका थिएनन् भन्ने प्रष्ट भयो । यो रकमको ठूलो हिस्सा कर्मचारीको तलबभत्तामा खर्च भएको छ । रविले पनि मासिक तलब पाउने गरी काम गरेका थिए । उनले तलब खाएको पैसा सहकारीकै हो । तर, सहकारीको पैसाबाट तलब खाएकै आधारमा रविले ‘हिनामिना गरेको’ ठहर्याइएको भए सो कम्पनीबाट तलब खाएका सबै कर्मचारीलाई सहकारी ठग मान्नुपर्ने हुन्थ्यो ।
रविमाथि लागेको मुख्य आरोप खारेज भएको छ । सहकारीको रकम आफैंले हिनामिना गरेको आरोपबाट उनी मुक्त बनेका छन् । अब जीवीले खातामा खातामा हालिदिएको रकम चेक काटेर खर्च गरेको र यसमै कारवाही गर्न समितिले भनेको विषयलाई नै उछालेर प्रहार गर्ने विकल्प रविका विरोधीहरूसँग बाँकी छ ।
प्रतिवेदनले सहकारीबाट गोर्खा मिडियामा आएको रकम रविले चेक काटेर टेलिभिजन सञ्चालनमा खर्च गर्ने गरेको औंल्याएको छ र यसमा ‘प्रचलित कानून बमोजिम’ कारवाहीका लागि सरकारलाई भनेको छ । यद्यपि, यस्तो कुनै कानून छैन, जसले आफ्नो कम्पनीको खातामा भएको रकम एमडीले चेक काटेर कम्पनीकै प्रयोजनका लागि खर्च गर्दा कारवाहीको भागिदार बन्नु परोस् । समितिले पनि प्रतिवेदनमा कुनै कानून उदृृत गर्न सकेको छैन ।
मूल आरोप वा मुद्दा भनेको सहकारीको रकम रविले अवैधानिकरूपमा निकालेर व्यक्तिगतरूपमा प्रयोग गरेका हुन् कि होइनन् भन्ने थियो । रविका नाममा रकम निकासा भएको केही प्रमाण पहिल्यै सार्वजनिक भएका पनि थिए । तर, समिति स्रोतका अनुसार रवि आफैंले हस्ताक्षर गरेर पैसा निकालेको कुनै पनि प्रमाण भेटिएन ।
लगानीकर्ताले कम्पनीमा विभिन्न स्रोतबाट ल्याएको पैसा खर्च गर्ने अख्तियारी रविलाई प्राप्त थियो । उनी कम्पनीका शक्तिशाली प्रवन्ध निर्देशक थिए । तीनजनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको भए पनि दैनन्दिन खर्चका लागि रविले नै चेक काट्ने गर्थे । खातामा रहेको रकमको स्रोत के हो भनेर जाँचबुझ गर्ने अख्तियारी आफूसँग नरहेको रविले बताएका छन्
