संकलित बचत परिचालनमा सहकारी संस्थाहरूको बदमासीका समाचारहरू सार्वजनिक हुन थालेपछि साना निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न थालेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १५ दिनमा बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । ११ देखि २४ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५१ अर्ब रुपैयाँ वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
११ वैशाखमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब २४ अर्ब रुपैयाँ थियो । २५ वैशाखमा ६१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकको मात्रै यस अवधिमा ५० अर्ब रुपैयाँ निक्षेप बढेको छ । ११ वैशाखमा ५४ खर्ब ११ अर्ब निक्षेप संकलन रहेका वाणिज्य बैंकहरूको निक्षेप संकलन २५ वैशाखसम्म आइपुग्दा ५४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय सहकारी संस्थाहरूले बचतकर्ताको पैसा दुरुपयोग गर्न थालेपछि साना निक्षेपकर्ता बैंकतर्फ मोडिएको बैंकरहरूको भनाइ छ । नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले विगतमा बढी ब्याजको लोभले सहकारीमा निक्षेप राख्नेहरू अहिले बैंक तथा वित्तीय संस्थामा पैसा राख्न बढी सुरक्षित महुसस गरेको हुन सक्ने बताए ।
त्यस्तै, पछिल्लो समय सरकारी खर्चमा भइरहेको वृद्धिले निक्षेप संकलन बढ्न थालेको उनको भनाइ छ । सरकारी खर्च बढ्ने क्रम सुरु भएको र रेमिट्यान्स भित्रिने क्रम बढ्दै गइरहेकाले पनि निक्षेप बढ्दै गइरहेको उनको भनाइ छ । उनले भने, ‘सरकारी खर्च बढ्दै गइरहेको छ । रेमिट्यान्स पनि बढी आइरहेकै छन् । सहकारी संस्थामा समस्या देखिन थालेकाले पनि निक्षेप संकलनमा वृद्धि भइरहेको हुन सक्छ ।’
सहकारी क्षेत्रमा बेथितिका कारण समस्याग्रस्त सहकारीको संख्या बढ्दै गइरहेको छ । ०८० सालमा आठवटा सहकारी समस्याग्रस्त घोषणा भइसकेका छन् । समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या हालसम्म २० पुगिसकेको छ ।
आठ अर्बको कर्जा प्रवाह
दुई सातामा बैंक तथा वित्तीय संस्थाबाट सात अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । ११ वैशाखसम्म ५१ खर्ब तीन अर्ब रहेको कर्जा प्रवाह २५ वैशाखसम्म आइपुग्दा ५१ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । निक्षेप संकलन बढ्दै गए पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । वाणिज्य बैंकको मात्रै यस अवधिमा सात अर्बले कर्जा वृद्धि भएको छ । कर्जाको माग बढ्न नसकेकाले पनि यसको प्रवाह सुस्त रहेको कोइरालाको भनाइ छ ।
बैंकहरूलाई अहिले पुँजीकोष अनुपात (टायर वन क्यापिटल) निर्धारित सीमामा कायम राख्न सकस परिरहेको छ । त्यस्तै, राष्ट्र बैंकले काउन्टर साइक्लिक बफर लागू गर्न लागे पनि बैंकहरू कर्जा लगानी गर्न दबाबमा रहेको उपाध्यक्ष कोइरालाले बताए । उनले भने, ‘पछिल्लो समय निष्क्रिय कर्जाको अनुपात बढ्दै गइरहेकाले बैंकहरू नयाँ कर्जा विस्तार गर्नेभन्दा रिकभरीतिर लागेका छन् ।’
निक्षेप बढ्दै जाने र कर्जा प्रवाह सुस्त हुँदा लगानीयोग्य पुँजी अधिक देखिन थालेको छ । ११ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) ८०.९७ प्रतिशत पुगेको थियो । २५ वैशाखसम्म आइपुग्दा यस्तो अनुपात ८०.५१ प्रतिशत कायम छ !
आज को नया पत्रीका बाट
