
१४ साउन, काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गरेका छन् ।शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भनेका छन् ।
हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो । अभिनेता डिक्याप्रिओले यसलाई अविश्वसनीय उपलब्धि भनेका छन् ।
उनले बाघ बढेसँगै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताएका छन् । नेपालले बाघ बढेसँगै उत्पन्न चुनौती सम्बोधन गर्न प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकामा पनि उनले खुशी व्यक्त गरेका छन् ।


