५० प्रतिशते घट्यो पशुबलि

कला घटना नेपाल

नुवाकोट : नुवाकोटका विभिन्न शक्तिपीठहरूमा सोमबार महाअष्टमी पर्वका अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्री भएका छन्। सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतना, सामाजिक जागरणका कारण यसवर्ष बडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि ५० प्रतिशत घटेको छ। नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्या लगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो। 

धर्मका नाममा पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठ लगायतका मुख्य शक्तिपीठहरूमा महाअष्टमीका अवसरमा दिने पशुबलिको सङ्ख्यामा १० वर्षको तुलनामा निकै कम भएको मन्दिरका पुजारीहरू बताउँछन्। सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुँदै पशुको सट्टा नरिवल लगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशु बलि घटेको प्रसिद्ध भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए। 

पुराना दिन सम्झँदै जालपादेवी मन्दिरमा पूजापाठ गर्दै चोकदेका रामप्रसाद उपाध्यायले भने- ‘अहिले फाट्टफुट्ट मात्र बलि दिनेहरू मन्दिर गइरहेका हुन्छन्।’ पशुबलिको विषय संस्कृतिसँग जोड्न नहुने उनको तर्क छ।समयसँगै धर्मकर्ममा बलिप्रथा पनि परिवर्तन हुँदै आएको हुनसक्ने जालपादेवी मन्दिरमा परिवारसहित पूजापाठ गर्न पुगेका त्रिशूली ढुंगेका नवराज उप्रेतीको भनाइ छ। धार्मिक संरचनामा यसरी फरकपन आउन थालेकामा संस्कृतिप्रेमी भने चिन्तित बनेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *